काठमाडौं । सरकारी ईकमर्सको रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गत सञ्चालनमा आएको नेपाल फुड्स डट जीओभी डट एनपीले ५००० रुपैयाँभन्दा मुनीको अर्डर नै नलिने गरेको पाइएको छ । कोभिड कालमा सुरु भएको सरकारको एक मात्र ईकमर्स कम्पनीले अर्डर सीमित राख्ने गरेको देखिएको हो ।
काठमाडौं, पोखरा र सुर्खेत गरी तीन ओटा सहरमा मात्रै यो ईकमर्स कम्पनीको सेवा उपलब्ध छ । तत्कालका लागि डेलिभरी निःशुल्क गरेको नेपाल फुड्समा दाल, गेडागुडी, तेल, घ्यु, चामल, नुन, ग्यास लगायतका सीमित सामग्री मात्रै उपलब्ध छन् ।
तर यदि तपाईंले नेपाल फुड्सबाट कुनै सामान अर्डर गर्दै हुनुहुन्छ भने पाँच हजार रुपैयाँ मुनीको अर्डर कार्टमा राखेको खण्डमा चेकआउट गर्ने विकल्प नै देख्नु हुने छैन ।
कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेले सीमित स्रोतसाधन रहेकाले अर्डर सीमित गर्नुपरेको बताइन् । “५००० रुपैयाँ माथिको अर्डरमा डेलिभरी निःशुल्क गरेपनि त्यसभन्दा मुनीको अर्डरमा डेलिभरी शुल्क लिने कुरा एउटा विकल्प हुन सक्छ, हामी त्यस विषयमा पनि सोच्दै छौं,” उनले भनिन् ।
कम्पनीले हाललाई काठमाडौंको चक्रपथभित्र, पोखरामा बजार क्षेत्र र सुर्खेतको उपत्यकाभित्र मात्रै डेलिभरी दिइने जनाएको छ । बजारको आवश्यकता र अध्ययन पश्चात् क्रमशः अन्य क्षेत्रमा समेत नेपाल फुड्सको सेवा विस्तार गरिने कम्पनीले बताएको छ ।
सीमित सामान मात्रै उपलब्ध रहेको नेपाल फुड्समा कतिपय क्याटेगोरीमा सामान नै स्टकमा नदेखिने अवस्था छ । हाललाई आधारभूत आवश्यकताका वस्तुमा मात्रै केन्द्रित हुने कम्पनीको नीति रहेको भन्दै सूचना अधिकारी न्यौपानेले हिमाली क्षेत्रका खाद्य सामग्रीलाई प्राथमिकता दिएर जाने योजना रहेको बताइन् ।