close

पनिशमेन्ट च्यालेन्जको नाममा पचाउनै नसकिने अश्लील हर्कतमा उत्रिन थाले नेपाली टिकटकर

टेकपाना टेकपाना

भदौ १०, २०८० १६:२६

पनिशमेन्ट च्यालेन्जको नाममा पचाउनै नसकिने अश्लील हर्कतमा उत्रिन थाले नेपाली टिकटकर

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा नेपाली टिकटकरले पनिशमेन्ट (सजाय) च्यालेन्जको नाममा अश्लीलता फैलाउन थालेको देखिएको छ । टिकटक लाइभमा जोडिएर गेम खेल्ने र हारेपछि टिकटकरले अश्लील हर्कत देखाउनु पर्ने किसिमको चुनौती दिने गरिएको हो ।

यसमा विशेषतः दुई व्यक्तिहरू लाइभमा जोडिएका हुन्छन् । त्यसपछि गेम सुरु गर्छन् । 

तोकिएको समयमा जसको पोइन्ट बढी हुन्छ उही नै विजेता हुन्छ । यति भएपछि हार्ने व्यक्तिले विजेताले भने अनुसारको सजाय पूरा गर्नुपर्ने हुन्छ । यसरी पनिशमेन्टको नाममा नेपाली समाजमा अपाच्य हुने हर्कत गर्न लगाउने क्रम बढेको हो । 

 

टिकटक लाइभमा कसरी खेलिन्छ गेम ?

टिकटकमा सामान्यतः एक जना लाइभ बसिरहेको हुन्छ । उसँग संयुक्त रूपमा लाइभ जान चाहने प्रयोगकर्ताले जोइन हुन रिक्वेस्ट पठाउँछ । 

लाइभ बसिरहेको व्यक्तिले रिक्वेस्ट एसेप्ट गरेको खण्डमा सो रिक्वेस्ट गर्ने व्यक्ति लाइभमा जोडिन पाउँछ । उनीहरूले गरेको कुराकानी दुवैका फलोअर वा अन्य टिकटक प्रयोगकर्ताले हेर्न पाउँछन् । 

यसरी टिकटक लाइभमा जोडिई सकेपछि उनीहरू गेम खेल्न थाल्छन् । टिकटक लाइभमा गेम खेल्दा विजेता बन्न तोकिएको समयमा बढी पोइन्ट ल्याउनुपर्छ । 

पोइन्ट्स लाइभ हेरिरहेका दर्शकले दिने गिफ्टका आधारमा बढ्छ । केही कलाकारले गेम खेल्दा गीत गाउने, नृत्य देखाउने गरिरहेका हुन्छन् । त्यस बाहेक केही टिकटकरको समूहले पनिशमेन्टको नाममा अश्लील हर्कत गर्न लगाउने गरेको पाइएको हो । 

 

कसरी सुरु भयो लाइभमा गिफ्ट पाउने लोभले अश्लीलता प्रदर्शन गर्ने होड ? 

इन्टरनेटमा यस्ता कयौं एडल्ट साइट छन्, जसमा युवक तथा युवतीहरू लाइभ आउँछन् । लाइभ बसेका व्यक्तिले स्ट्रिममा एउटा रकम तोकेका हुन्छन् । 

यदि लाइभ हेर्ने व्यक्तिले होस्टले भनेको जति रकम पठाएर टास्क पूरा गर्‍यो भने उनीहरू अश्लील हर्कत देखाउँछन् । बढी रकम दिने अडियन्ससँग व्यक्तिगत रूपमै पनि होस्टले कुरा गरेर अश्लीलता देखाइरहेका हुन्छन् । 

अश्लील साइटमा देखिने त्यही छनक टिकटकमा सर्न थालेको हो । 

गिफ्ट पाउने र लाइभ रोचक बनाउने धुनमा होस्ट तथा लाइभमा सँगै गएको अर्को व्यक्तिले एक अर्का विरुद्ध तथानाम बोल्ने, अश्लील गालीहरू गर्ने, अश्लील हर्कत गरेर जिस्काउने लगायतका काम गर्छन् । 

 

लाइभमा यतिसम्मका अश्लील हर्कत गर्छन् नेपाली टिकटकर

टिकटकमा लाइभ हेर्ने केही व्यक्तिले अश्लील हर्कत गरेका भिडिओ स्क्रिन रेकर्ड गरेर अन्य सामाजिक सञ्जालमा समेत राखिएका हुन्छन् । सामाजिक सञ्जालमा राखिएका विभिन्न स्क्रिन रेकर्ड भिडिओमा टिकटकरले आफ्ना गोप्य अङ्गमा अण्डा राखेर फुटाउने, पिठो खन्याउने, हिलो हाल्ने, पानी खन्याउने, अश्लील सङ्केत तथा हाउभाउ गर्ने गरेको पाइएको देखिन्छ । 

 

प्रमाण भेटिए अनुसन्धान गरेर कारबाही गर्छौंः साइबर ब्यूरो

टिकटकमा पनिशमेन्टका नाममा अश्लील हर्कत गर्न लगाउने र गर्ने दुवै व्यक्तिमाथि अनुसन्धान गरेर कारबाही गर्ने साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । “टिकटकमा त्यस्तो हर्कत बढेको छ भने हामी कानूनी दायरामा ल्याएर कारबाही गर्छौं,” रायले भने, “हामी त्यस्ता प्रमाण खोजिरहेका छौं ।”

 

यदि कसैले लाइभको स्क्रिन रेकर्ड राखेको खण्डमा [email protected] एड्रेसमा ईमेल पठाउन समेत रायले अनुरोध गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १६:३५