close

नेपालका लागि पब्जी विश्वकपको सपना तुहियो, पाँचै नेपाली टोली छनौटमा असफल

टेकपाना टेकपाना

भदौ १७, २०८० २२:५०

नेपालका लागि पब्जी विश्वकपको सपना तुहियो, पाँचै नेपाली टोली छनौटमा असफल

काठमाडौं । पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२३ नेपाली टिम रहित हुने भएको छ । 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३' को आइतवार सम्पन्न फाइनलमा सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा पब्जी विश्वकपसम्म पुग्ने यात्रा बीचैमा रोकिएको हो । 

फाइनलमा पाँच नेपाली टिमले खेले पनि अन्तिम दिनको खेलमा शीर्ष छ भित्र अटान नसक्दा 'पीएमजीसी २०२३' को अवसर गुमेको हो । फाइनलको तेस्रो दिनबाट नेपाली टिमले आफ्नो लय गुमाउन थालेका थिए । यससँगै नेपाली पब्जी समर्थकको लागि 'पीएमजीसी २०२३' खल्लो हुने भएको छ । 

‘रअ ई-स्पोर्ट्स’ले फाइनलको अन्तिम गेममा राम्रो चिकेन डिनर निकाले पनि समग्र अङ्क तालिकामा पाकिस्तानी टिम ‘सेभेन्थ इलिमेन्ट’सँग तीन पोइन्टले पछाडि पर्दा पीएमजीसी २०२३ पुग्नबाट चुक्यो ।

यससँगै दक्षिण एसिया क्षेत्रबाट 'पीएमजीसी २०२३' खेल्ने छ ओटा टिमको पनि टुङ्गो लागेको छ । दक्षिण एसियाबाट स्टलवार्ट ई-स्पोर्ट्स, एगोनआईएट, फोमिराकल भाइब्स, एनबी ई-स्पोर्ट्स, सेभेनई ई-स्पोर्ट्स र आइएचसी ई-स्पोर्ट्सले पीएमजीसी २०२३ खेल्ने पक्का भएको छ । पीएमजीसी २०२३ नोभेम्बरदेखि डिसेम्बरसम्म सञ्चालन हुनेछ ।

 यसका साथै यो प्रतियोगिताको उपाधि मङ्गोलियन टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले जितेको छ । स्टलवार्टले २४ खेलबाट चार चिकेन डिनर र १२७ एलिमिनेसन पोइन्ट सहित कुल २०८ पोइन्ट ल्याएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश ‘फोमिराकल भाइब्स’ र ‘एगोनआइएट’ रहेका छन् । 

नेपाली टिमहरूको कुरा गर्नुपर्दा रअ ई-स्पोर्ट्स सातौँ, टीटूके ई-स्पोर्ट्स आठौँ स्थानमा रहे । यस्तै स्काइलाइट गेमिङ नवौँ, डीआरएस गेमिङ १० औं र लियो ई-स्पोर्ट्स १२ औ स्थानमा सीमित भए । 

यो प्रतियोगिताको विजेता स्टलवार्ट ई-स्पोर्ट्सले २६ हजार डलर (करिब ३४ लाख ४० हजार रुपैयाँ) जितेको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० २२:५२