close

२५ वर्षको भयो गुगल, यस्तो छ सर्च इन्जिनदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मको यात्रा

टेकपाना टेकपाना

भदौ १८, २०८० १४:२९

२५ वर्षको भयो गुगल, यस्तो छ सर्च इन्जिनदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मको यात्रा

काठमाडौं । सर्च इन्जिनको बादशाह गुगल २५ वर्षअघि आजकै दिन स्थापना भएको थियो । गुगल सुरुवात भएको ४ सेप्टेम्बरलाई कम्पनीको स्थापना दिवसका  रूपमा मनाइन्छ । इन्टरनेटमा गुगलको प्रयोग त्यसरी भइरहेको छ, जसरी सवारी चलाउन इन्धन वा ऊर्जा प्रयोग गरिन्छ ।

जसरी इन्टरनेटमा कन्टेन्ट बढ्दै गयो, त्यसरी नै कन्टेन्ट सहज र सरल तरिकाले खोज्ने प्रयोगकर्ताको चाहना बढ्दै गयो । आज अधिकांश कामका लागि कुनै न कुनै रूपमा इन्टरनेटको प्रयोग भएकै हुन्छ । यदि इन्टरनेटबाट सर्चको सुविधा हटाइदिने हो भने मात्र पनि इन्टरनेटको अस्तित्व के हुन्छ भन्ने बहस उठ्न सुरु हुन्छ ।

त्यसबाहेक पनि यदि सर्च इन्जिन नहुने हो भने हामी आफूलाई उपयुक्त हुने कन्टेन्ट खोज्न पाउँदैनौं । कन्टेन्ट सर्च गर्ने सन्दर्भमा गुगल सबैभन्दा अग्रस्थानमा छ । यसो त सर्च इन्जिनको सुविधा भएका अन्य थुप्रै प्लेटफर्म पनि छन् । तर, प्रयोगकर्तालाई सबैभन्दा उपयुक्त र भरपर्दो सुविधा उपलब्ध गराउने प्लेटफर्म गुगल नै हो । त्यसैले पनि गुगल अन्य प्लेटफर्मभन्दा प्रख्यात छ ।

गुगल आज जति भव्य छ, त्यति भव्य सुरुवाती समयमा थिएन । स्टान्डफर्ड युनिभर्सिटीमा पीएचडी अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले आफ्नी अर्की साथी सुसन वजेस्कीको ठाउँ भाडामा लिएर आफ्नो सर्च इन्जिन परियोजना अगाडि बढाएका थिए । पछि सुसन गुगलको पहिलो मार्केटिङ मेनेजर बनिन् । त्यससँगै उनी अहिले युट्युबको प्रमुख कार्यकारीका रूपमा सक्रिय छिन् । 

सन् २०१९ मा गुगलको मातृ कम्पनी अल्फाबेटको कार्यकारी अधिकृत र सभापति पदबाट ल्यारी पेज र ब्रिनले संयुक्त विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा उनीहरूले लेखेका थिए, “जब हामीले हाम्रो सर्भरहरूलाई छात्रावासको कोठाबाट ग्यारेजमा सार्‍यौं, त्यसपछिको यात्राबारे हामी कल्पना पनि गर्न सक्दैनौं ।” ग्यारेज भन्नाले ल्यारी गुगलका संस्थापकले गुगलको सर्च इन्जिन परियोजना सुरु गरेको ठाउँलाई बुझाउँछ । 

गुगलका छैटों कर्मचारी ह्यारीले सन् १९९८ मा कम्पनीको वर्कस्पेस भिडिओ टुल तयार पारेका थिए । सो भिडिओमा ल्यारी पेजको कम्प्युटर देख्न सकिन्छ । पेज र ब्रिनले वजेस्कीलाई मासिक १७०० डलर भाडा तिरेर ग्यारेज भाडामा लिएका थिए । त्यसबेला वजेस्की इन्टेलको मार्केटिङ विभागमा काम गर्थिन् ।

सन् २०१९ मा वजेस्कीले एक अन्तर्वार्तामा भनेकी थिइन्, “मलाई आफ्नो स्पेसको भाडा कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्तित थिएँ । त्यसैले म कुनै पनि विद्यार्थीलाई ग्यारेज भाडामा दिन तयार थिएँ । त्यही बेला दुई विद्यार्थी ल्यारी पेज र सर्गेई ब्रिन आए । उनीहरू गुगलका संस्थापक हुन्, तर त्यो बेला उनीहरू केवल विद्यार्थी मात्र थिए ।”

उनीहरूको कम्पनी राम्रो हुँदै गएपछि आफ्नो इन्टेलको जागिर छोडेर वजेस्की गुगलको १६औं कर्मचारीका रूपमा जोडिएकी थिइन् । पछि उनीहरूलाई ठूलो स्पेस आवश्यक परेपछि पलो अल्टो (Palo Alto) मा सरे । गुगलको अहिलेको मुख्यालय गुगलप्लेक्स माउन्टेन भ्यु क्यालिफोर्नियामा रहेको छ । सो क्षेत्रमा गुगल २० लाख वर्ग फिटमा फैलिएको छ । 

तर पनि उनीहरूले ग्यारेजलाई यत्तिकै छोडेनन् । आफ्नो इतिहास मनाउने क्रममा गुगलले सन् २००६ मा सो क्षेत्रको १९०० वर्ग फिट जमिन खरिद गरेको थियो । त्यसका लागि कम्पनीले १३ लाख डलर खर्च गरेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । पछि सन् २०१३ मा आफ्नो १५ औं वार्षिकाेत्सव मनाउन गुगलले सो ग्यारेज खुलायो र वजेस्कीलाई मन्तव्य दिन भनियो ।

“गुगलमा अहिले जे कुराहरू परिवर्तन भए पनि यसको कोर टिममा भएका हामी उस्तै छौं,” वजेस्कीले प्रेस सम्मेलनमा भनेकी थिइन् । त्यसको करिब पाँच वर्षपछि आफ्नो २०औं वार्षिकाेत्सव मनाउन गुगलले उक्त ग्यारेज सन् १९९८ मा कस्तो देखिन्थ्यो त्यस्तै बनायो । र, उक्त क्षेत्र अन्वेषण गर्न चाहनेका लागि गुगल म्याप्सको स्ट्रिट भ्युबाट सबैले अन्वेषण गर्न पाउने सुविधा ल्यायो ।

गुगलले आफूलाई सर्च इन्जिनमा मात्र सीमित राखेन । इन्टरनेटको वृद्धिसँगै मानिसको आवश्यकता महसुस गर्दै गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम, डिजिटल कन्टेन्टका र एपका लागि गुगल प्ले जस्ता सेवाहरू ल्याएको थियो । कम्पनी विस्तार हुँदै जाँदा गुगल विभिन्न विवादमा पनि तानियो । 

यी तमाम चुनौतीका बावजुद पनि बजारमा राम्रो सम्भावना बोकेका युट्युब र एआईद्वारा सञ्चालित भर्चुअल असिस्टेन्टलाई आफ्नो स्वामित्वमा लियो ।  

हालै पनि च्याटजीपीटी जस्तो एआई च्याटबटको चर्चा बढेपछि गुगलले आफ्नै एआईमा आधारित एआई च्याटबट बार्ड सार्वजनिक गरेको थियो । त्यस्तै एआईकै लोकप्रियतालाई मध्यनजर गर्दै गुगल आफ्ना सयौं सेवाहरूलाई एआईमा जोड्ने अभियानमा अगाडि छ । त्यसबाहेक पनि समय अनुसार आफूलाई परिमार्जन गर्दै कम्पनी अहिले सयौं क्षेत्रमा सक्रिय छ ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १४:४०