close

आईटी पढ्न चाहनेका लागि त्रिविमा ‘करियर कनेक्ट’ कार्यक्रम हुँदै

टेकपाना टेकपाना

भदौ २५, २०८० १२:३१

आईटी पढ्न चाहनेका लागि त्रिविमा ‘करियर कनेक्ट’ कार्यक्रम हुँदै

काठमाडौं । कक्षा १२ उत्तीर्ण तथा स्नातक तह अन्तिम वर्षका विद्यार्थीलाई लक्षित गर्दै करियर कनेक्ट नामक कार्यक्रम आयोजना गर्ने भएको छ । कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) एसोसिएसन अफ नेपालले त्रिवि अन्तर्गत विज्ञान तथा प्रविधि सङ्काय र कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागसँग सहकार्य गरेर आउँदो असोज ५ र ६ गते उक्त कार्यक्रम गर्न लागेकाे हाे ।

त्रिवि परिसरमा हुने कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बीएससी सीएसआईटी र बीआईटी शैक्षिक कार्यक्रमबारे परामर्श दिइने र स्नातक तहका विद्यार्थीलाई विभिन्न कम्पनीहरूसँग जोड्ने याेजना रहेकाे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमीले जानकारी दिए ।

“धेरै विद्यार्थीहरूले त्रिविको नाम सुनेका हुन्छन् । तर देखेका हुँदैनन् । त्रिवि अन्तर्गतका कलेजमा पढिरहेका हुन्छन् । तर त्रिवि आएका हुँदैनन् । यसकारण त्रिवि परिसरमै हामीले सञ्चालन गर्ने आईटी कोर्षहरूबारे विद्यार्थीलाई बुझाउन यो कार्यक्रम गर्न लागेका हौं,” उनले भने ।

त्यस्तै सातौं र आठौं सेमेस्टर अध्ययनरत विद्यार्थीलाई सके त्यही कार्यक्रममार्फत रोजगारीको अवसर दिन, नभएर इन्टर्नशिपको अवसर दिन कार्यक्रम गर्न लागेको पनि उनले जनाए ।

पहिलो दिनकाे कार्यक्रम कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित हुनेछ । जसमा पहिल्यै उत्तीर्ण भएका सीएसआईटी र बीआईटीका विद्यार्थीहरूले आफ्नो अनुभव बाँड्नेछन् ।

त्यस्तै दोस्रो दिनकाे कार्यक्रममा स्नातक तह अन्तिम वर्षका विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी हुनेछ । कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, आईटी कम्पनीका प्रतिनिधिहरू, आईटीमा रुचि राख्ने व्यक्तिहरूको उपस्थिति हुने आयोजकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १२:३१