close

पाँचौं वार्षिकोत्सवको अवसरमा राइडरबाट लिने कमिसन घटाउँदै पठाओ

टेकपाना टेकपाना

असोज ७, २०८० १७:४६

पाँचौं वार्षिकोत्सवको अवसरमा राइडरबाट लिने कमिसन घटाउँदै पठाओ

काठमाडौं । राइड शेयरिङ तथा हेलिङ एप पठाओले आफ्ना राइडरहरूबाट लिने कमिसन घटाउने भएको छ । भोलि सोमबारदेखि सुरु हुने 'पठाओ दशैं महोत्सव' अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसन घटाउने भएको हो ।

हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन लाग्दै आएको छ । अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जाने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिए ।

जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तिमा एक प्रतिशतसम्म हुन आउने कम्पनीले जनाएको छ ।

यस्तै पठाओले आफ्ना पाँचौं वार्षिकोत्सवको अवसरमा राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍ (फुड डेलिभरी गर्ने व्यक्ति) का लागि 'पठाओ बेनिफिट प्रोग्राम' समेत सुरु गरेको छ ।
आइतवार उत्कृष्ट चालकलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले उक्त घोषणा गरेका हुन् ।

पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ उत्कृष्ट  चालक तथा पठाओ हिरो सम्मानित भएका छन् । कम्पनीका अनुसार पठाओ चालकलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज समूहमा वर्गीकरण गरी सम्मान गरिएको हो ।

बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा सहरबाट सुरु गरिएको पठाओ अहिले विभिन्न सहरमा जाने क्रममा रहेको बताए । उनले भने, "अब चाँडै अर्को ५/६ ओटा सहरमा जाँदै छौँ ।"

साथै राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि बेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको  डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटेगोरीमा परेका राइडरलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको हो ।

त्यस्तै केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपमा आकर्षक छुटको समेत व्यवस्था गरिएको पठाओ नेपालका प्रवक्ता शशाङ्क शमशेर थापाले जानकारी दिए । क्याटेगोरी अनुसार स्कुल फी स्पोन्सरशिप, मोबाइल डेटा प्याकेज, मासिक क्वेस्ट पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आबद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौं उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियत स्वरूप कम्पनीका तर्फबाट उपहार भएको थापाले बताए ।

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १७:४६