close

आज सार्वजनिक हुँदै ‘गुगल पिक्सेल ८’ सिरिज, आईफोन १५ लाई टक्कर दिने अनुमान

टेकपाना टेकपाना

असोज १७, २०८० १७:५९

आज सार्वजनिक हुँदै ‘गुगल पिक्सेल ८’ सिरिज, आईफोन १५ लाई टक्कर दिने अनुमान

काठमाडौं । गुगलको बहुप्रतिक्षित पिक्सेल ८ सिरिज आज बुधवार सार्वजनिक हुँदैछ । नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुने ‘मेड बाई गुगल’ कार्यक्रममा पिक्सेल ८ सिरिजसँगै पिक्सेल वाच टु र अन्य उत्पादन सार्वजनिक हुने भएको हो ।

यसो त गुगलले सार्वजनिक गर्न लागेको पिक्सेल ८ र पिक्सेल ८ प्रोबारे थुप्रै जानकारी लिक भइसकेका छन् । केही दिनअघि मात्रै युट्युबमा फोन अनबक्सिङ गरेको भिडिओ बाहिरिएको थियो । विभिन्न एआई फिचरका कारण पिक्सेल ८ सिरिजबारे धेरैले चासो राखिरहेका छन् ।

हालै सार्वजनिक भएको आईफोनको नयाँ संस्करण आईफोन १५ सिरिजमा प्रयोगकर्ताले विभिन्न समस्याको सामना गर्नुपरेको गुनासो गरेका छन् । ​विशेषगरी फोन तातिने, ब्याट्री चाँडै सकिने, फोन फुल्ने, डिभाइस चाँडै स्क्र्याच हुने जस्ता समस्या आइरहेका छन् । त्यसैले पनि आईफोन १५ भन्दा गुगल पिक्सेल ८ राम्रो हुन्छ कि भन्ने प्रयोगकर्ताको अपेक्षा छ ।

कसरी हेर्ने ‘मेड बाई गुगल’ इभेन्ट ?

नेपाली समय अनुसार बुधवार राति ७ः४५ बजेदेखि मेड बाई गुगल इभेन्ट सुरु हुनेछ । उक्त कार्यक्रमको लाइभ यहाँ क्लिक गरी युट्युबमा हेर्न सकिनेछ । 

कस्तो छ पिक्सेल ८ र ८ प्रो ? 

गुगलले पिक्सेल ८ सिरिजको फोनलाई अहिलेसम्मकै स्तरीय पिक्सेल क्यामेरा भएको फोनका रूपमा परिभाषित गरेको छ । त्यसबाहेक पनि फोनमा इन्ट्रिगेट हुने गुगल एआईको सहायताले अन्य काम छिटो र सहजै गर्न सक्ने बनाउने कम्पनीको विश्वास छ ।

९१ मोबाइल्स नामको प्लेटफर्मबाट बाहिरिएको पिक्सेल ८ को भिडिओमा क्यामेराको नयाँ फिचरहरूबारे चर्चा गरिएको थियो । भिडिओमा भनिए अनुसार फोनबाट खिचिएको भिडिओलाई स्टेबलाइज गर्न, अडियोलाई स्तरीय बनाउन तथा भिडिओको क्वालिटी आकर्षक बनाउन त्यसमा आकर्षक फिचरहरू समावेश गरिएका छन् । 

लिक भएका विभिन्न जानकारीका अनुसार पिक्सेल ८ प्रोमा ६.७ इन्चको डिस्प्ले हुन्छ । सो फोनमा ५० मेगापिक्सेलको वाइड लेन्स, ४८ मेगापिक्सेलको म्याक्रो फोकस सहितको अल्ट्रावाइड क्यामेरा र फाइभ एक्स टेलिफोटो लेन्ससहितको ४८ मेगापिक्सेल सेन्सर हुने बताइएको छ । यो टेलिफोटो क्यामेराबाट पाँच गुणा जुम क्षमताको फोटो तथा भिडिओ खिच्न सकिनेछ ।

पिक्सेल ८ मा भने ६.१७ इन्चको डिस्प्ले, ५० र १२ मेगापिक्सेलको डुअल क्यामेरा हुनेछ । दुवै मोडेलमा सेल्फी पारखीका लागि १०.५ मेगापिक्सेलको क्यामेरा हुने बताइएको छ ।

विभिन्न लिकरका अनुसार दुबै मोडेलमा फोटोलाई स्तरीय बनाउन एआई इन्ह्यान्स्ड फिर र प्रयोगकर्ताको शरीरको तापक्रम ट्रयाक गर्न टेम्प्रेचर सेन्सर समावेश गरिएको छ । यी मोडेलमा गुगलले आफ्नो शक्तिशाली चिपसेट टेन्सर जी थ्री चिप समावेश गर्ने लिकरहरूको भनाइ छ ।

पिक्सेल ८ को सुरुवाती मूल्य ६९९ डलर र ८ प्रोको सुरुवाती हुने ९९९ डलर हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८० १७:५९