काठमाडौं । गुगलले आफ्नो पिक्सेल ८ सिरिजका फोन र पिक्सेल वाच टु स्मार्टवाच सार्वजनिक गरेको छ । बुधवार राति आयोजित ‘मेड बाई’ गुगल कार्यक्रममार्फत कम्पनीले फोन र स्मार्टवाचसँगै ती फोनमा उपलब्ध हुने आकर्षक फिचर पनि घोषणा गरेको छ ।
यी फोनमा कम्पनीले थुप्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित फिचरहरू ल्याएको छ । यसमा कम्पनीले चर्चा गरेको एक फिचर हो, अडियो म्याजिक इरेजर । नयाँ मोडेलको फोनमा समावेश गरिएको टेन्सर जी थ्री चिपसेटको उक्त फिचर इनेबल गर्ने गुगलले जनाएको छ । यसको सहायताले प्रयोगकर्ताले कुनै पनि भिडिओ खिच्दा त्यसमा आउने ब्याकग्राउन्ड न्वाइज सहजै हटाउन सक्नेछन् ।
अडियो म्याजिक इरेजरले कसरी काम गर्छ ?
गुगलका अनुसार अडियो म्याजिक इरेजरले एआई प्रयोग गरी सहजै भिडिओमा प्रस्ट नआएको आवाजलाई म्युट गर्छ । भन्नुको अर्थ जुन आवाज भिडिओमा प्रखर छ, त्यो आवाज झन् प्रस्ट हुन्छ भने पृष्ठभूमिमा सुनिएको म्युजिक म्युट हुन्छ । पिक्सेल ८ सार्वजनिक गर्ने क्रममा कम्पनीले यो फिचरको चर्चा गर्दा अगाडि बालक बोलिरहेको देखाउँछ । ब्याकग्राउन्डमा भने कुकुर भुकिरहेको हुन्छ । पछि गएर पिक्सेल ८ मा भएको अडियो म्याजिक इरेजरले कुकुरको आवाज हटाइदिन्छ र अगाडि बच्चा बोलिरहेको आवाज मात्र सुनिन्छ ।
एआईमार्फत सञ्चालित यो फिचरको सहायतामा प्रयोगकर्ताले अडियोको कुन भाग हटाउने भन्ने पनि छान्न सक्नेछन् । यो फिचरले कसरी काम गर्छ भनेर देखाइएको युट्युब भिडिओ पनि गुगलले सार्वजनिक गरेको छ ।
सो भिडिओमा गुगलले विभिन्न वर्गका ब्याकग्राउन्ड आवाजलाई कसरी वर्गीकरण गर्छ भन्ने देखाएको छ । विशेषगरी भिडको कोलाहल आवाज, हावा चलेको, म्युजिक लगायत अन्य आवाजका रूपमा गुगलले ब्याकग्राउन्ड न्वाइज वर्गीकरण गरेको छ ।
अडियो म्याजिक इरेजर कहिले उपलब्ध हुन्छ ?
गुगलले सार्वजनिक गरेको पिक्सेल ८ र पिक्सेल ८ प्रोमा यो फिचर उपलब्ध भइसकेको छ । १२ अक्टोबरदेखि बजारमा उपलब्ध हुने यो फोन खरिद गरेर प्रयोगकर्ताले अडियो म्याजिक इरेजर फिचर प्रयोग गर्न सक्छन् । अन्य पिक्सेल फोनमा पनि यो फिचर उपलब्ध हुन्छ वा हुँदैन भन्ने जानकारी भने गुगलले खुलाएको छैन । त्यसो त पिक्सेल सेभेनका लागि गुगलले ल्याएका फिचरहरू पिक्सेल सिक्समा उपलब्ध गराइएको थियो । यस हिसाबले अहिलेलाई पिक्सेल ८ सिरिजमा मात्र उपलब्ध अडियो म्याजिक इरेजर पिक्सेल सेभनमा समेत सपोर्ट गर्ने अपेक्षा गरिएको छ ।