close

एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी राष्ट्रिय स्तरको प्रतिस्पर्धा गराउँदै निमा एकेडेमी

टेकपाना टेकपाना

असोज २०, २०८० १२:५५

एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी राष्ट्रिय स्तरको प्रतिस्पर्धा गराउँदै निमा एकेडेमी

काठमाडौं । नेपाली एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूबीच ‘कोडेभर ५.० रिजनल’ (Codeavour 5.0 Regional) नामक प्रतिस्पर्धा गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभर एआई, कोडिङ र रोबोटिक्स सम्बन्धी प्रतिस्पर्धा आयोजना गराउने स्टिमपेडियासँग सहकार्य गर्दै नेपालमा पनि निमा एकेडेमीले उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमले विद्यार्थीमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सीपलाई अभिवृद्धि गर्ने आयोजकले बताएको छ । प्रतिस्पर्धामा सहभागी हुन असोज १९  (शुक्रबार) देखि दर्ता सुरु भइसकेको छ भने मंसिर १४ सम्म आवेदन दिन सकिनेछ ।

प्रतिस्पर्धामा देशभरका १०० बढी विद्यालयबाट दुई हजार विद्यार्थीको सहभागिता हुने आयोजककाे अपेक्षा छ । त्यसरी आउने विद्यार्थीहरूले समूहगत रूपमा एआई, कोडिङ, रोबोटिक्स सम्बन्धी परियोजना तयार पार्नुपर्छ । जसमध्ये उत्कृष्ट ५० समूहलाई आयोजकले पुरस्कृत गर्नुका साथै सन् २०२४ मा दुबईमा हुने अन्तिम प्रतिस्पर्धाका लागि विज्ञहरूबाट प्रशिक्षण समेत दिनेछ ।

तर उनीहरूमध्ये उत्कृष्ट १० समूह मात्रै सन् २०२४ को अप्रिलमा हुने प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । त्यहाँ अन्य देशबाट आउने विद्यार्थीहरूबीच उनीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । अन्तिम प्रतिस्पर्धामा राम्रो गर्ने १०० सहभागीले २५ हजार डलर बराबरको पुरस्कार प्राप्त गर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८० १२:५५