close

आईफोन १५ को ब्याट्री तात्तिएपछि नयाँ आईओएस अपडेट, प्रयोगकर्ताले अब राहत पाउलान् ?

टेकपाना टेकपाना

असोज २०, २०८० १४:१०

आईफोन १५ को ब्याट्री तात्तिएपछि नयाँ आईओएस अपडेट, प्रयोगकर्ताले अब राहत पाउलान् ?

काठमाडौं । प्रयोगकर्ताहरूले आईफोन १५ प्रो मोडेलहरू बढी नै तात्तिएकाे गुनासो गरेपछि एप्पलले गत बुधबार आईओएस १७.०.३ सार्वजनिक गर्‍यो । फोन तात्तिने समस्या हार्डवेयरले नभएर सफ्टवेयरले भएको बताउँदै एप्पलले आईओएसको नयाँ भर्सन अपडेट गरेको थियो ।

साथै यो अपडेटले ए१७ प्रो चिपको क्षमतामा केही असर नगर्ने पनि एप्पलले बताएको छ । तर के साँच्चै एउटा सफ्टवेयर अपडेटले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स तात्तिने समस्या हल भयो होला त ? आज हामी यसै विषयमा चर्चा गर्दै छौं: 

आईफोन १५ प्रोमा तात्तिने समस्या

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स प्रयोग गर्ने धेरै एप्पल प्रयोगकर्ताहरूले केही क्षण मात्र फोन चलाए असाध्यै तात्तिने गुनासो गरेका थिए । तर एप्पलले भने नयाँ आईफोनमा सबै कुराहरू सेट गर्दा,  ब्याकअपबाट रिस्टोर गर्दा, वायरलेस चार्ज गर्दा, धेरै ग्राफिक्स भएको एप प्रयोग गर्दा सामान्य अवस्थाको तुलनामा फोन केही बढी तात्तिने तर्क गरेको थियो ।

यद्यपि कम्पनीले गत साता सफ्टवेयरको समस्याले असामान्य रूपमा आईफोन १५ प्रो मोडल तात्तिएको बताएको थियो । त्यसपछि एप्पलले आईओएस १७ मा नयाँ अपडेट ल्याएकाे हो । त्यस अपडेटले ए१७ प्रो चिपको प्रदर्शन क्षमतामा कुनै असर नपर्ने एप्पल सम्बन्धी लेख्ने नाइन टु म्याकले जनाएको छ ।

अपडेटले फोनको प्रदर्शनमा असर पारेको छ त ? 

नाइनटुम्याकले गिकबेन्च फाइभ (डिभाइसको क्षमता परीक्षण गर्ने बेन्चमार्कर) प्रयोग गरी विभिन्न परीक्षण गरेको थियो । उसले आईफोन १५ प्रो म्याक्समा नयाँ अपडेटपछि प्रदर्शनमा असर पर्छ/पर्दैन भनेर परीक्षण गरेको थियो । 

त्यस परीक्षणमा अपडेटले आईफोन १६ प्रोको प्रर्दशनमा असर पारेको देखिएन । त्यस्तै अपडेटले तात्तिने समस्या पूर्ण समाधान गर्ने पनि देखिएको छैन । किनकी एप्पलले पनि इन्स्टाग्राम तथा उबर जस्ता एप चलाउँदा भने फोन तात्तिएकाे स्वीकार गरेको छ । साथै त्यसलाई समाधान गर्न लागिपरेको जनाएको छ ।

यदि तपाईं आईफोन १५ तात्तिन्छ भनेर चिन्तित हुनुहुन्छ भने एप वा आईओएस अपडेट गर्नु राम्रो विकल्प भने पक्कै हाे । साथै धेरै प्रोसेसर आवश्यक पर्ने एप लामो समय नचलाउने वा गर्मी ठाउँमा बसेर फोन नचलाउनाले पनि ब्याट्री तात्तिने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८० १४:२६