काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्सले भेरिफाइड अकाउन्टलाई मात्र पोस्टमा रिप्लाई गर्न दिने फिचर ल्याएको छ । मङ्गलवार बिहान एक पोस्ट राख्दै कम्पनीले भेरिफाइड प्रयोगकर्तालाई मात्र रिप्लाई गर्न दिने फिचर सार्वजनिक गरेको हो ।
यससँगै अब एक्समा कुनै पनि पोस्ट राख्दा रिप्लाई गर्न भेरिफाइड प्रयोगकर्ता, फलो गरेका अकाउन्ट, मेन्सन गरेका अकाउन्ट वा सबैलाई दिने भन्ने छनोट गर्न सकिने छ ।
प्रयोगकर्ताले 'हु क्यान रिप्लाई'मा गएर 'भेरिफाइड अकाउन्ट्स'को अप्सन छानेको खण्डमा भेरिफाइड अकाउन्टबाहेक अन्यले तपाईंको पोस्टमा रिप्लाई गर्न पाउने छैनन् ।
यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । प्रयोगकर्तालाई स्वचालित रूपमा सञ्चालन हुने अकाउन्टको दिक्दारीबाट जोगाउन याे फिचर उपयाेगी हुने एक्स प्रमुख एलन मस्कले बताएका छन् ।
कम्पनीले शुल्क तिरेर भेरिफिकेसन लिन सकिने सेवा ल्याएको करिब ११ महिनापछि यस्तो फिचर ल्याएको हो ।
हाल एक्सको भेरिफिकेसन लिन छुट्टाछुट्टै शुल्क तिर्नुपर्ने हुन्छ । नेपालमा एन्ड्रोइड तथा आईओएसबाट यो सेवा लिनका लागि प्रयोगकर्ताले मासिक ११ डलर र वेब प्लेटफर्मबाट मासिक ७.९९ डलर तिरेर प्रिमियम सेवा लिन सकिन्छ । यद्यपि हरेक देशमा यो शुल्क फरक-फरक छ । माथि उल्लेख गरिएको शुल्क स्ट्यान्डर्ड शुल्क हो ।
(*समाचारकाे शीर्षकमा भेरिफाइड प्रयोगकर्तालाई मात्र रिप्लाई गर्न दिने फिचर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । स.)