close

नेपालमा आउँदै एयरब्याग सहित १६ सिट क्षमताको बिजुली भ्यान, एक पल्ट चार्ज गर्दा २५० किमि गुड्ने

टेकपाना टेकपाना

असोज २६, २०८० १८:५६

नेपालमा आउँदै एयरब्याग सहित १६ सिट क्षमताको बिजुली भ्यान, एक पल्ट चार्ज गर्दा २५० किमि गुड्ने

काठमाडौं । शशिला मोटर्स् प्रालिले हाइगर ब्राण्डका व्यावसायिक विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । कम्पनीले १६ सिट क्षमता भएको बिजुली भ्यान नेपाली बजारमा सार्वजनिक गर्ने तयारी थालेको हो ।

जसका लागि कम्पनीले शुक्रवार चिनिया बस उत्पादक कम्पनी हाइगरबस कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १३० भन्दा धेरै देशमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

हाइगर ‘चाइनिजफेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त ब्राण्ड हो । यो सम्झौतासंगै शशिला मोटर्स हाइगर भ्यानको नेपालका लागि आधिकारक वितरक बनेको छ ।

सुरुमा कम्पनीले १६ सिट क्षमताका विद्युतीय मिनी भ्यान र मिनी बस नेपाली बजारमा सार्वजनिक गर्ने बताइएको छ । जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट ठहरिने विश्वास शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले व्यक्त गरे ।

ईभी भ्यानले एक पटकको चार्जमा २५० किमि दूरी पार गर्न सक्ने बताइएको छ । यो गाडीमा ७० किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ ।

कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ, एअर ब्यागसहितको सुरक्षाका विशेषता युक्त हाइगर ईभीमा आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाउँ रहेको बताइएको छ ।

यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित उत्कृष्ट आन्तरिक सजावट, नेपालको बाटो सुहाउँदो २०० एमएम उचाईको ग्राउन्ड क्लियरेन्स भएको गाडीमा ९० किलोवाट पावर क्षमता रहेको छ ।

३५० एनएम टर्क भएको यो ईभीमा पिकअप समेत राम्रो रहेको बताइएको छ । यसमा एलोइ ह्वील र २१५ आर ७५ टायर साइज, १६ पीआर रहेको छ । 

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८० १८:५६