close

स्टार्टअपमा लगानी खोज्दै हुनुहुन्छ ? २५ अर्ब प्रतिबद्धता प्राप्त फेस्टमा भाग लिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

असोज २९, २०८० ११:७

स्टार्टअपमा लगानी खोज्दै हुनुहुन्छ ? २५ अर्ब प्रतिबद्धता प्राप्त फेस्टमा भाग लिन यसो गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करणको मिति घोषण गरेको छ । मञ्चले आगामी डिसेम्बर २३ (७ पुस २०८०) का लागि फेस्ट आयोजना गर्ने घोषणा गरेको हो ।

गत वर्ष नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेकोे मञ्चले दोस्रो संस्करणमा सहभागिताका लागि आवेदन पनि खुलाएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ ओटा कम्पनीसँग समझदारी समेत गरेको छ ।

एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआईबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग लगानीका लागि समझदारी भएको उल्लेख छ । यी कम्पनीहरूसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको मञ्चले जनाएको छ ।

सोही कार्यक्रममा नेपाल उद्योग परिसङ्घ, नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेस्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दीक्षित पनि गरिएको थियो । ग्रोथएक्स एभरेस्टको पहिलो ब्याजका रूपमा छानिएका आठ ओटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो ।

बिहे नेपाल, डक्टर्स अन कल, फोकसवन, कारखाना, वेद, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई छ महिनाको तालिम दिइएको थियो । तालिम प्राप्त गरेका मध्ये छ ओटा स्टार्टअप कम्पनीले उल्लेखित ११ ओटा लगानी कम्पनी समक्ष आफ्नो नवीन सोचको बारेमा प्रस्तुतीकरण दिएका छन् ।

११ ओटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्ने बताइएको छ । सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा तोय नारायण ज्ञवाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसाल समेतको सहभागिता रहेको थियो ।

नेपाल स्टार्टअप फेस्ट २०२३ घोषणा गर्न आयोजित कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टमको राम्रो सुरुवात भएको बताए । स्टार्टअपले आर्थिक र सामाजिक रूपान्तरणको महत्त्वपूर्ण शक्ति बन्ने सम्भावना राखेको उल्लेख गर्दै उनले नेपाल उद्योग परिसङ्घ, युवा उद्यमी मञ्च स्टार्टअपहरूलाई चुनौतीको सामना गर्न पूर्ण रूपमा सघाउन तयार रहेको बचन दिए ।

मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको बताए । युवाहरू तथा देशमा रहेका स्टार्टअपलाई प्रोत्साहन गर्न आफूहरूले जनाएको प्रतिबद्धता अनुरूप फेस्ट आयोजना गर्न लागिएको उनको भनाई थियो ।

फेस्टमा आफ्नो स्टार्टअपको सहभागिता गराउन चाहनु हुन्छ अथवा लगानी खोजी रहनु भएको छ भने यहाँ क्लिक गरेर दर्ता गर्न सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज २९, २०८० ११:७