close

बेलायतको भिसा लागेका नेपालीलाई कोठा खोजिदिने भन्दै अनलाइन ठगी धन्दा

टेकपाना टेकपाना

कात्तिक १, २०८० १०:५७

बेलायतको भिसा लागेका नेपालीलाई कोठा खोजिदिने भन्दै अनलाइन ठगी धन्दा

काठमाडौं । विभिन्न देशमा भिसा लागेका नेपाली विद्यार्थीलाई अनलाइनबाट कोठा खोजिदिने बहानामा ठगी गर्ने गरेको पाइएको छ । हालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आफूलाई अनलाइनबाट कोठा खोजिदिने बहानामा रकम लिएको र पछि मान्छे नै गायब भएको भन्दै केही उजुरी परेका छन् ।

कार्यालयका साइबर पिल्लर प्रमुख डीएसपी लिलाराज डाँगीका अनुसार अहिलेसम्म अनलाइनबाट बेलायतमा कोठा खोजिदिने बहानामा ठगी गर्ने दुई जना उजुरी दिन आएका छन् । जसमध्ये एक युवक ५० हजार रुपैयाँ र अर्की युवती ७५ हजार रुपैयाँ ठगिएको भन्दै कार्यालय पगेका थिए ।

“भिसा लागिसकेका विद्यार्थी कोठा खोजिरहेका हुन्छन्,” डीएसपी डाँगी भन्छन्, “त्यसैको फाइदा उठाउँदै स्क्यामरहरू अनलाइनबाट कोठा उपलब्ध गराउने भन्दै एड्भान्स लिएर सम्पर्कविहीन हुन्छन् ।”

“यस्तो ठगीमा पर्नेमध्ये केहीले पूरै रकम बुझाएका हुन्छन् भने केहीले एड्भान्स मात्र दिएका हुन्छन् । कतिपय कोठा भेटिसकेको भन्दै निर्धक्कका साथ विदेश पुग्छन् । तर, त्यहाँ पुगिसकेपछि न कोठा खोजिदिने भेटिन्छ न कोठा नै ।”

डीएसपी डाँगीले अगाडि भने, “यस्तोमा अलपत्र पर्ने जोखिम उत्तिकै हुन्छ । यो नयाँ प्रकृतिको ठगी हो । विदेश जाने भनेपछि मानिसहरू कोठाका लागि राम्रै रकम दिन तयार हुन्छन् । त्यसैको फाइदा उठाउँदै स्क्यामर लुट्न थाल्छन्,” उनी सुनाउँछन् ।

यसरी कुनै देश जाने तयारी छ भने त्यही देशमा गइसकेकालाई वा आफू जोमार्फत जान लागेको हो उसैसँग बुझेर जाँदा उपयुक्त हुने डाँगीको भनाइ छ । उनले यस्ता घटना बढ्ने जोखिम उच्च भएकाले सचेत रहन समेत अनुरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १०:५७