तीन दिनदेखि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट डाउन, रिटोटलिङका लागि आवेदन दिने विद्यार्थी मर्कामा
असार ७, २०८३ १३:२६
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट विगत तीन दिनदेखि अवरुद्ध भएको छ । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अवरुद्ध भएको वेबसाइट अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन चाहने विद्यार्थी समस्यामा परेका हुन् ।
नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि बोर्डले शुक्रबार नै सूचना जारी गर्दै रिटोटलिङका लागि अनलाइन आवेदन खुला गरेको थियो । तर, आवेदन प्रक्रिया सुरु भएलगत्तै वेबसाइट डाउन भएको हो । आइतबार बिहान केही घण्टाका लागि वेबसाइट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिने म्याद आगामी १२ असार बेलुका ५ बजेसम्म मात्र तोकिएको छ ।
बोर्डले १४ देखि २७ वैशाखसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो जसको नतिजा शुक्रबार (असार ५ गते) सार्वजनिक गरिएको हो । उक्त परीक्षामा नियमित र आंशिकतर्फ गरी कुल ६४.१३ प्रतिशत अर्थात् २ लाख ६८ हजार १९० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमित तथा आंशिक परीक्षाको नतिजामा चित्त नबुझ्ने विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिन पाउने बोर्डले जनाएको छ । यसका लागि असार ६ गते शनिबार बिहान ११:०० बजेदेखि १२ असार ५:०० बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । तर, आवेदन दिने मुख्य माध्यमका रूपमा रहेको वेबसाइट नै सञ्चालनमा आउन सकेको छैन । यसबारे बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई सम्पर्क गर्दा फोन उठेन ।
पछिल्लो अध्यावधिक: असार ७, २०८३ १३:२८
