close

अब गुगलको पिक्सेल स्मार्टफोन पनि भारतमै बन्ने, आउला त नेपाल ?

टेकपाना टेकपाना

कात्तिक २, २०८० १४:५३

अब गुगलको पिक्सेल स्मार्टफोन पनि भारतमै बन्ने, आउला त नेपाल ?

काठमाडौं । गुगलले आफ्ना पिक्सेल स्मार्टफोन भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले बिहीवार नवौं संस्करणको भारत केन्द्रित वार्षिक कार्यक्रममार्फत यस्तो घोषणा गरेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

गुगलले यसै अङ्ग्रेजी महिनाको सुरुतिर पिक्सेल एट सिरिज सार्वजनिक गरेको थियो । यही स्मार्टफोन भारतमा निर्माण हुने गुगलको पहिलो पिक्सेल फोन हुन सक्ने बताइएको छ, जुन २०२४ मा रोलआउट गर्ने अपेक्षा गरिएको छ ।

"भारतका थप मानिसहरूलाई पिक्सेल स्मार्टफोनमाथिको फराकिलो उपलब्धता कायम गराउने कार्यमा अझ धेरै अवसर देखिरहेका छौं र हाम्रो पिक्सेल स्मार्टफोन भारतमा उत्पादन गर्ने योजना घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं," गुगलको डिभाइस तथा सर्भिसका भीपी रिक ओस्टरलोले भनेका छन् ।

"मेक इन इन्डिया अभियानमा जोडिंदै स्थानीय रूपमा पिक्सेल फोन उत्पादन गर्न हामी अन्तर्राष्ट्रिय तथा घरेलु निर्माताहरूसँग साझेदारी गर्नेछौं," ओस्टरलोले अगाडि भनेका छन् । उनले भारत पिक्सेल डिभाइसका लागि पहिलो रोजाइको बजार भएको उल्लेख गर्दै म्यानुफ्याक्चरिङका लागि विश्वस्तरीय हब बन्दै गएको र र उत्साहजनक व्यावसायिक वातावरण तयार भइरहेको सन्दर्भलाई लिएर प्रशंसा समेत गरेका छन् ।

पिक्सेल फोन अहिलेसम्म आधिकारिक तवरमा नेपाली बजारमा भने प्रवेश गरिसकेको छैन । छिमेकी मुलुकमै उत्पादन भएको अवस्थामा भने उक्त स्मार्टफोनमाथि नेपाली उपभोक्ताको समेत पहुँच सहज बन्ने अपेक्षा भने गर्न सकिन्छ ।

एप्पलले भने यस अघि नै भारतमा आईफोन उत्पादन सुरु गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८० १४:५३