close

युट्युबले सुटुक्क ल्यायो मोबाइल एपमा भिडिओ लक गर्न सकिने फिचर

टेकपाना टेकपाना

कात्तिक ८, २०८० ९:५७

युट्युबले सुटुक्क ल्यायो मोबाइल एपमा भिडिओ लक गर्न सकिने फिचर

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले भिडिओ लक गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ । युट्युबको मोबाइल एपमा भिडिओ हेरिरहँदा अनावश्यक ट्याप भएर नयाँ भिडिओ प्ले हुने, आफै फर्वार्ड वा ब्याकवार्ड तथा प्ले पज हुने समस्यालाई मध्यनजर गर्दै कम्पनीले हालै यो फिचर सार्वजनिक गरेको हो । 

भिडिओ लक फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले युट्युबको पछिल्लो अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसपछि युट्युबमा कुनै पनि भिडिओ प्ले गर्नुहोस् । अनि, त्यसलाई ल्यान्डस्केप मोडमा राख्नुहोस् । यति गरेपछि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा जानुहोस् । त्यहाँ रहेको लक स्क्रिनको अप्सनमाई छान्नुहोस् । त्यसपछि स्क्रिनमा ‘ट्याप टु अनलक’ (Tap to unlock) लेखेको बटनमा बाहेक अन्त कतै पनि टच हुँदैन । तर लक बटन, भोल्युम अप डाउन बटन तथा  होम, ब्याकओभरभ्यु बटनलाई भने यो फिचरले कुनै प्रभाव पार्दैन । 

त्यस्तै यसअघि एन्ड्रोइड टीभीमा मात्र युट्युब एप खोल्दा देखिने एनिमेसन अहिले मोबाइल एपमा पनि देखिन थालेको छ । साथै युट्युबले हालै प्रयोगकर्ताको प्रोफाइल सेक्सनलाई पनि स्तरीय बनाएको छ । पहिले सेटिङको अप्सनमा गएर प्रयोग गर्नुपर्ने विभिन्न अप्सन अहिले अन्तिममा रहेको प्रोफाइलको आइकनमा ट्याप गरेरै हेर्न सकिन्छ । प्रोफाइलको अप्सनमबाट सोझै अकाउन्ट स्विच गर्न, गुगल अकाउन्ट व्यवस्थापन गर्न र इनकग्निटो मोड अन गर्न सकिन्छ । त्यस्तै युट्युबमा बिताएको समय, प्रयोगकर्ताले खरिद गरेको फिल्म, डाउनलोड गरेका भिडिओ र प्रयोगकर्ताले अपलोड गरेका भिडिओ पनि त्यही सेक्सनबाट हेर्न सकिन्छ । 

त्यसअघि उक्त सेक्सनबाट आफूले पहिले हेरिसकेका भिडिओको लिस्ट, प्लेलिस्ट, र डाउनलोड गरिएका भिडिओ हेर्न सकिन्थ्यो । 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८० ९:५८