काठमाडौं । ह्याक भएका युट्युब च्यानलहरू पुनः प्राप्त गर्नका लागि युट्युबले नयाँ एआई च्याटबट ल्याउने भएको छ । ह्याकपछि क्रियटरहरूलाई सहयोग गर्न युट्युबले यस्तो एआई असिस्टेन्ट टुल ल्याउन लागेको हो ।
युट्युबले आफ्नो सपोर्ट पेजमा यसलाई ‘ट्रबलसुटिङ टुल’को रूपमा वर्णन गरेको छ । यो च्याटबट युट्युबको हेल्प सेन्टरमा उपलब्ध हुनेछ, जसले च्यानल ह्याक भएमा क्रियटरहरूलाई विभिन्न प्रश्नहरू सोध्नेछ र तिनका आधारमा च्यानल सुरक्षित राख्ने र पुनः प्राप्त गर्नका लागि निर्देशन दिनेछ ।
हाल यो टुलले अंग्रेजी भाषा मात्र सपोर्ट गर्छ भने सीमित क्रियटरहरूका लागि उपलब्ध छ । आगामी दिनमा यो फिचर सबै युट्युब क्रियटरहरूका लागि उपलब्ध गराउने कम्पनीको योजना छ ।
अहिले विश्वभर नै युट्युब च्यानल ह्याकका घटना बढिरहेको अवस्थामा युट्युबको यो टुलले क्रियटरहरूलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सामान्यतया, ह्याकका घटनाहरू एक्सेस दिएको व्यक्तिको लापरबाही, पाइरेटेड सफ्टवेयरको प्रयोग, फिशिङ लिङ्कहरूमा क्लिक गर्ने लगायतका कारणले हुने गर्छन् । युट्युब च्यानलमा मुख्य व्यवस्थापकले अन्य व्यक्तिहरूलाई विभिन्न स्तरका एक्सेस दिन मिल्छ, जसले ह्याकको सम्भावना बढाउँछ ।
यदि तपाईं युट्युब च्यानल चलाउनुहुन्छ भने, च्यानल ह्याक हुनबाट जोगाउन मल्टिफ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने, पाइरेटेड सफ्टवेयर र एपहरू प्रयोग नगर्ने र अनावश्यक विज्ञापन लिङ्कहरूमा क्लिक नगर्ने जस्ता सावधानी अपनाउन सक्नुहुन्छ ।