close

सावित्री सुवेदी र बिक्की अग्रवाल विरुद्ध साइबर ब्यूरो जाने तयारीमा सन्दीप लामिछाने

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १६:२३

सावित्री सुवेदी र बिक्की अग्रवाल विरुद्ध साइबर ब्यूरो जाने तयारीमा सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका छन् । आफूबारे सार्वजनिक टेलिभिजन कार्यक्रममार्फत दिइएको अभिव्यक्तिलाई लिएर लामिछाने नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका हुन् ।

गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्री सुवेदी ‘जयनारी’ले  लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि गम्भीर टिप्पणी गर्दै वध गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् ।

बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले कानूनी उपचार खोज्‍ने तयारी भइरहेको लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

“कार्यक्रममा आएको उक्त अभिव्यक्ति एउटा विषयमात्र नभएर धेरै कानूनविपरीत छ,” टेकपानासँग कुरा गर्दै घिमिरेले भने, “विचाराधीन मुद्दाबारे सार्वजानिक रूपमा बोल्न अदालतले रोकेको छ । वाक स्वतन्त्रता विरुद्ध गएर सार्वजानिक रुपमा कसैको हत्या गर्नुपर्ने अभिव्यक्ति छ । राष्ट्रका लागि खेलिरहेको खेलाडी र परिवारको मानसिक पीडाका कुराहरू छन् । मुद्दा नै प्रभावित बनाउने अभिव्यक्ति आएको छ । यसो हुँदा अहिले हाम्रो समूहले डकुमेन्ट गरिरहेको छ ।”

घिमिरेले कार्यक्रम निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेकाे जानकारी दिए ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १७:८