close

नेपाली फिनटेक कम्पनी सिटिटेकले पायो ‘ग्रेट प्लेस टु वर्क®’ प्रमाणपत्र

टेकपाना टेकपाना

मंसिर ८, २०८० १२:२८

नेपाली फिनटेक कम्पनी सिटिटेकले पायो ‘ग्रेट प्लेस टु वर्क®’ प्रमाणपत्र

काठमाडौं । नेपाली फिनटेक कम्पनी सिटिटेकले ‘ग्रेट प्लेस टु वर्क®’ को प्रमाणीकरण पाएको छ । विश्वव्यापी रूपमा मान्यता प्राप्त ग्रेट प्लेस टु वर्क® इन्स्टिच्युटले २०२३्-२४ का लागि सिटिटेकलाई ‘ग्रेट प्लेस टु वर्क’को मान्यता दिएको हो ।

विशेषगरी कम्पनीले आफ्ना कर्मचारीहरूलाई गर्ने व्यवहार, उपलब्ध गराउने सेवा सुविधा, सहज कार्यालय वातावरण एवं कार्य संस्कृतिलाई आधार बनाएर उक्त संस्थाले यो प्रमाणीकरण दिने गर्छ ।

९२ जना कर्मचारी रहेको सिटिटेकमा पनि उक्त संस्थाले प्रमाणीकरण दिनुअघि सबै कर्मचारीहरूमा विभिन्न तहको सर्वेक्षण गरेको थियो ।

टेकपानासँग कुरा गर्दै सिटिटेकका कर्पोरेट कम्युनिकेसन एक्जुकेटिभ अस्रव्य मल्लले भने, “लिडरहरू कस्ता छन्, काम कसरी गरिरहेका छन्, कम्पनीको काम गर्ने वातावरण कस्तो छ, कर्मचारीसँग गरिने व्यवहार कस्तो छ जस्ता प्रश्नलाई आधार बनाएर सर्वेक्षण हुन्छ । यी सबै परीक्षण सफल भएमा संस्थाले सर्टिफाइड गर्छ ।”

सिटिटेकले प्राप्त गरेको यो प्रमाणीकरणले विश्वास, सहकार्य र नवप्रवर्तनलाई बढावा दिने वातावरण प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ बनाएको कम्पनीको विश्वास छ । 

यो प्रमाणीकरणले कर्मचारीको अनुभवका साथै समावेशीकरणलाई समेत बढावा दिने कम्पनीले उल्लेख गरेको छ । ग्रेट प्लेस टु वर्कको प्रमाणीकरणको अवधि एक वर्षसम्मको हुन्छ । 

कम्पनीले २०२४/२५ का लागि ग्रेट प्लेस टु वर्कको प्रमाणीकरण प्राप्त गर्न अहिलेको भन्दा स्तरीय सेवाहरू दिएको, कार्य संस्कृति थप विस्तार गरेको हुनुपर्ने मल्लले सुनाए ।

 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १२:३४