close

सेन्सर र रिमोट प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

टेकपाना टेकपाना

मंसिर ८, २०८० १३:२७

सेन्सर र रिमोट प्रयोग गरी जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । अत्याधुनिक सेन्सर जडान गरी सेन्सरलाइट एवं रिमोटबाट सञ्चालन हुने डिजिटल प्रणाली प्रयोग गरी जुवातास खेल्दै गरेको अवस्थामा छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा वडा नं.२२ खाल्सेमा रहेको भेषबहादुर गुरुङको घरबाट बुधबार उनीसहित छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमरसिंहचोक बस्ने ३८ वर्षीय बलराम श्रेष्ठ, पृथ्वीचोक बस्ने २८ वर्षीय सुरेन्द्र शाह, रामबजार बस्ने दिपेन्द्र सेन, विजयपुर बस्ने ४१ वर्षीय खम्बसिंह राना र बुढीबजार बस्ने 'सन्दिप' भनिने डोर बहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भेषबहादुरको घरमा जुवा (कौडा) खेलाउने काम भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । यसपछि घरमा तलासी गर्दा प्रहरीले अत्याधुनिक रूपमा सेन्सर जडान गरी सेन्सरलाइट एवं रिमोटबाट सञ्चालन हुने, डिजिटल प्रणाली प्रयोग गरी जुवातास खेल्दै गरेको अवस्थामा ती व्यक्ति पक्राउ पक्राउ परे ।

“जुवाखालमा उनीहरूले प्रयोग गरेको प्रविधिले रातो र निलो बत्ति बालेर सिग्नल दिने रहेछ,” प्रहरी नायब उपरीक्षक बिकले भने, “त्यहाँ कोड पनि हुने रहेछ । कोड अनुसार सिग्नल प्रयोग गर्ने गरेको देखिएको छ । उनीहरूसँग रिमोट पनि हुने रहेछ । रिमोटको प्रयोग गरी सेन्सरले कन्ट्रोल गर्ने भन्ने बुझिएको छ ।”

त्यसबाहेक उक्त प्रविधि नै प्रयोग गरेर जुवा खेल भइरहेको हो वा खेलाउने व्यक्तिले जालसाजीका लागि त्यस्तो प्रविधि प्रयोग गरेको हो भन्ने स्पष्ट नभएको उनले बताए । “जसले जुवा खेलाउँछ, उसले आफ्नो फाइदाका लागि त्यस्तो प्रविधि प्रयोग गरेको पनि हुनसक्छ,” बिकले भने । 

जुवाखालबाट प्रहरीले दुई थान रिमोट, डिजिटल स्टेबलाइजरबाट जडान गरी जुवा खालमा हेर्न मिल्ने गरी रातो र निलो सेन्सर​लाइट जडान गरेको रातो र पहेलो रंगको तार १४ मिटर, एक थान रातो रंगको डिजिटल स्टेबलाइजर, एक थान जुवा खेलाउनका लागि जमिनमा खाडल खनेर लाइनको तार समेत जडान गरेको गोलाकार सेन्सर मसिन (अर्थिङ बक्स), १६ थान कौडा र ८२ हजार ९९० रुपैयाँ बरामद गरेको छ । 

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १३:३८