फेसबुक र टिकटकले लगातार आत्महानिको कन्टेन्ट सजेस्ट गरेपछि बालिकाको आत्महत्या, इटालीमा मुद्दा दायर
असार ७, २०८३ ७:३४
काठमाडौं । इटालीकी एक महिलाले आफ्नी छोरीको आत्महत्यामा भूमिका खेलेको भन्दै फेसबुक र टिकटकमाथि मुद्दा दायर गरेकी छिन् । फेसबुक र टिकटकको अल्गोरिदमले लगातार आत्महानि सम्बन्धी कन्टेन्टहरू मात्र सजेस्ट गरेका कारण आम्फी १२ वर्षीय छोरी रोसेल्लाले आत्महत्या गरेको भन्दै आमा आइरेन रोग्गेरो युग्वेसले मुद्दा दायर गरेको रोयटर्सले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमार्फत आत्महानिसम्बन्धी सामग्रीहरू लगातार देख्न थालेपछि केही महिनाको अवधिमै आफ्नी छोरीको व्यवहारमा परिवर्तन आएको आइरेनको भनाइ छ । त्यस्ता कन्टेन्टहरू निरन्तर देख्न थालेपछि छोरीको मानसिक अवस्था झन् बिग्रँदै गएको र अन्ततः उनले आत्महत्या गरेको आइरेनले आरोप लगाएकी छिन् ।
रोसेल्लाको मृत्यु भएपछि आइरेन र उनका पतिले छोरीका डिजिटल उपकरणहरू अनलक गरेका थिए । त्यसपछि उनीहरूले रोसेल्लाले आफूहरूले सोचेभन्दा धेरै समय सामाजिक सञ्जालमा बिताउने गरेको पत्ता लगाए । रोसेल्लाले 'Just a dead pers0n' नामको एक गोप्य इन्स्टाग्राम प्रोफाइल समेत सञ्चालन गरिरहेकी थिइन् ।
सन् २०२३ को सेप्टेम्बरमा रोसेल्लाले आफूले महसुस गरिरहेको भावनासँग मेल खाने अवसाद (डिप्रेसन) सम्बन्धी सामग्रीहरू खोज्न थालेकी थिइन् । त्यसपछि सामाजिक सञ्जालका अल्गोरिदमहरूले त्यस्तै सामग्रीहरू बारम्बार उनको फिडमा देखाइरहे र त्यसको करिब पाँच महिनापछि उनको मृत्यु भयो ।
“नकारात्मक सामग्रीको प्रभाव क्रमशः बढ्दै गयो र अन्ततः उसको हँसिलो, मिलनसार र उज्यालो पक्षमाथि हावी भयो”, आइरिनने भनिन् । रोसेल्लाको त्रासदी अचानक आएको र विनाशकारी रोग जस्तै फैलिएका कारण आफू पूर्ण रूपमा असहाय बनेको आइरिनले बताएकी छिन् । उनका अनुसार अल्गोरिदमले रोसेल्लाको पीडा अस्वाभाविक रूपमा बढाएको थियो । “अल्गोरिदम नभएको भए सम्भवतः स्वाभाविक रूपमा अघि बढ्ने थियो”, उनले भनिन् ।
इन्स्टाग्राम र फेसबुकको मातृ कम्पनी मेटा र यसको प्रमुख प्रतिस्पर्धी टिकटक विरुद्ध रोसेल्लाका आमाबुबा जस्तै सयौँ अभिभावकहरूले मुद्दा दायर गरेका छन् । यी अभिभावकहरूले इटालीमा सामाजिक सञ्जाल कम्पनीहरू र तिनका अल्गोरिदमलाई प्रत्यक्ष रूपमा चुनौती दिँदै पहिलो सामूहिक मुद्दा दायर गरेका हुन् । यसमार्फत उनीहरूले किशोर-किशोरीहरूको सामाजिक सञ्जाल पहुँचमा कडा प्रतिबन्ध लगाउन र यससँग सम्बन्धित जोखिमबारे बढी सचेतना फैलाउन माग गरेका छन् ।
यता, दुवै कम्पनीहरूले किशोरहरूका लागि आफ्ना सेवाहरू हानिकारक भएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । उनीहरूले आफ्नो प्लेटफर्मले हानिकारक सामग्री हटाउने, जोखिमपूर्ण सामग्रीको पहुँच सीमित गर्ने र परिवारहरूलाई बालबालिकाका खाता व्यवस्थापन गर्न सहयोग गर्ने जस्ता उपायहरू अपनाएर प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने प्रयास गरिरहेको बताएका छन् ।
पछिल्लो अध्यावधिक: असार ७, २०८३ ७:४०
