close

गुगल फोटोजबाट सबै फोटो/भिडिओ एकैपटक कसरी डाउनलोड गर्ने ?

टेकपाना टेकपाना

मंसिर १७, २०८० १६:१२

गुगल फोटोजबाट सबै फोटो/भिडिओ एकैपटक कसरी डाउनलोड गर्ने ?

काठमाडौं । हाम्रो डेटा भण्डारण गर्ने तरिकालाई क्लाउड स्टोरेजले पूरै परिवर्तन गरिदिएको छ । विगतमा कुनै पनि डेटाको ब्याकअप राख्ने र डिभाइसहरूमा सार्नुपर्ने बाध्यता थियो । अहिले ती काम क्लाउड स्टोरेजका कारण सजिलो भएको छ । तर ब्याकअप अथवा भण्डारण गर्न सजिलो भएपनि क्लाउड स्टोरेजबाट डिभाइसहरू बीचमा डेटा सार्न अलि झन्झटिलो छ ।  

जस्तो; तपाईंले स्मार्टफोनबाट कम्प्युटरमा फोटो र भिडिओ सार्दा केही फोटोहरू मात्र कम्प्युटरमा जान सक्छन् । यसो हुनुको कारण स्मार्टफोनको मेमोरीमा भन्दा क्लाउडमा फोटो तथा भिडिओहरू डिफल्ट रूपमा भण्डारण हुनु हो । यदि तपाईं क्लाउड स्टोरेजबारे अलि जानकार हुनुहुन्न भने यसले अलमलाउन र दिक्क लगाउन सक्छ । 

यसले कस्तो समस्या दिन सक्छ भनेर रेडिटका एक प्रयोगकर्ताले हालै अनुभव शेयर गरेका छन् । “मैले आफ्नी दिवङ्गत श्रीमतीको पिक्सेल फोनमा भएको फोटो/भिडिओ मेरो कम्प्युटरमा सार्न खोज्दा करिब छ महिना जतिको मात्र सर्यो । तर फोटो एपमा भने पाँच वर्ष अगाडिसम्मको फोटो छ,” उनले रेडिटमा लेखेका छन् । यस्तो समस्या हुनुको कारण बाँकी रहेका फोटो/भिडिओ फोनमा नभएर क्लाउडमा स्टोरेज हुनु हो ।

तर यस कुराले अलमल गराउँछ भनेर गुगल स्वयंले समेत स्पष्ट खुलाएको छैन । कहिलेकाहीँ फोटो/भिडिओ एकै ठाउँमा देख्दा तिनीहरू एउटै स्थानमा भण्डारण भएको जस्तो लाग्न सक्छ । तर सबै अवस्थामा यो कुरा लागू नहुन सक्छ । विशेष गरेर ती फोटो/भिडिओ कहाँ भण्डारण गरिएको छ भन्ने कुराले अर्थ लाग्ने गर्छ ।  

उनको जस्तै समस्या तपाईंले पनि नभोग्नु होला भन्ने छैन । तर फोनमा भएका सबै फोटो/भिडिओ कम्प्युटरमा एकैसाथ सार्न केही तरिकाहरू छन् । जस्तै; फोनमा भएको क्लाउड स्टोरेजको एप कम्प्युटरमा प्रयोग गर्ने अथवा यूएसबीको सहायताबाट म्यानुअली ती मिडिया सार्ने ।

यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा गुगल फोटोको वेब एप प्रयोग गर्नुहोस् । तर गुगल अकाउन्ट भने फोन र कम्प्युटरमा एउटै हुनुपर्छ । वेब एपबाट फोनमा सेभ भएका सबै डेटा एकै पटक डाउनलोड गर्न सकिन्छ । यदि तपाईंले सबै नभएर केही फोटो/भिडिओ मात्र शेयर गर्न चाहनुहुन्छ भने तिनलाई कम्प्युटरमा डाउनलोड गर्नुपर्ने हुन्छ ।

फोटो/भिडिओ डाउनलोड गर्न दायाँ माथि रहेको तीन ओटा डट बटनमा क्लिक गर्नुहोस् । मेनुबाट ‘डाउनलोड’ चयन गर्नुहोस् । यसरी तपाईंले क्लाउडमा भएका मिडिया अर्थात् फाइल एकैपटक डाउनलाेड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० १६:१२