close

टेलिफोन तथा इन्टरनेट सेवामा हड्ताल गर्न नपाइने

टेकपाना टेकपाना

मंसिर २९, २०८० १४:१

टेलिफोन तथा इन्टरनेट सेवामा हड्ताल गर्न नपाइने

काठमाडौं । सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ । बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हड्ताल गर्न नपाइने विभिन्न क्षेत्रको सूची सार्वजनिक गरेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गरेको छ । राजपत्रअनुसार डाँक (चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध, तार वा टेलिफोन सेवामा हड्ताल गर्न पाइने छैन ।

त्यस्तै राजपत्रमा प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, बैंकिङ सेवा, विद्युत सेवा, कन्सुलर विभागबाट प्रदान हुने सेवा तथा इन्टरनेट सेवालाई हड्ताल निषेधित क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।

यसैगरी हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा, हातहतियार खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्काउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवामा हड्ताल गर्न पाइने छैन ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० १४:५१