close

विश्वविद्यालय खोल्ने सोचमा एलन मस्क

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १२:५६

विश्वविद्यालय खोल्ने सोचमा एलन मस्क

काठमाडौं । विश्वका धनाढ्य एलन मस्कले नयाँ शिक्षण संस्था खोल्ने भएका छन् । आफ्नो परोपकारी संस्था ‘द फाउन्डेसन’ मार्फत अमेरिकास्थित अस्टिन सहरमा मस्कले शिक्षण संस्था खोल्ने तयारी गरेका छन् ।

मस्कले प्राथमिक र माध्यमिक तहमा स्टिम अर्थात् विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सिकाउन विद्यालय खोल्ने तयारीमा लागेको ब्लुमबर्गले लेखेको छ । यसका लागि मस्कले द फाउन्डेसनलाई १० करोड डलर दिइसकेको समेत बताइएको छ ।

कालान्तरमा सोही विद्यालयलाई मस्कले विश्वविद्यालय बनाउन चाहेको बताइन्छ । मस्कको नयाँ विद्यालयमा ५० जना विद्यार्थीबाट भर्ना सुरु गर्ने र भविष्यमा उक्त संख्या थप्दै जाने याेजना छ । त्यस्तै यसमा भर्ना हुने विद्यार्थीलाई अनलाइनमार्फत समेत पढाइने छ ।

यद्यपि भर्नाको मापदण्ड र पाठ्यक्रमबारे केही खुलाइएको छैन । तर शैक्षिक संस्थाहरूको लागि अस्टिन नयाँ केन्द्र बनिरहेको सन्दर्भमा मस्कको नयाँ विद्यालयले नयाँ अध्याय थप्ने बताइएको छ ।

५२ वर्षीय धनाढ्यले विद्यालय खोलेको अथवा विश्वविद्यालय बनाउन चाहेको यो पहिलो घटना भने होइन । दशकअगाडि उनले आफ्ना र स्पेस एक्सका कर्मचारीको सन्तान पढाउन एड एस्ट्रा (Ad Astra) नामक विद्यालय खोलेका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १३:८