close

संस्कृति मन्त्री किराँती सामाजिक सञ्जालको ट्रेन्डिङमा

टेकपाना टेकपाना

पुस ५, २०८० १४:१

संस्कृति मन्त्री किराँती सामाजिक सञ्जालको ट्रेन्डिङमा

काठमाडौं । क्रिश्चियन धर्मलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रेन्डिङमा परेको छ ।

बुधवार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् क्रिसमस महोत्सव २०८० कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्ति विवादित बनेकाे हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले साढे चार मिनेटको क्लिप शेयर गरिरहेका छन्, जसमा मन्त्री किराँतीले भनेका छन्, "नेपाल बहुधार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हातकडी लगाएर जेलमा हालिदिने हो ।"

मन्त्रीको यही अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा उनीमाथि चर्को आलोचना भएको छ ।

फेसबुकमा 'सुदन किराँती', 'सुदन किराँती भाइरल भिडिओ' शीर्षकका भिडिओहरू 'पपुलर नाउ'मा परेका छन् । अर्थात् सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ हेर्न यस्ता कीवर्ड खोजिरहेका छन् ।

फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले कुनै धर्म नमान्दैमा देशद्रोही नहुने आशयका साथ प्रतिक्रिया दिइरहेका छन् ।

किराँतीकाे अभिव्यक्ति भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, "संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ?"

त्यस्तै सामाजिक सञ्जाल एक्समा रेखा न्यौपाने नाम भएकी प्रयोगकर्ताले लेखेकी छिन्, "कसैको छोरी विरुद्ध बोले गणतन्त्र विरुदको प्रहार हुने, कसैले क्रिस्चियानिटी मान्दिनँ भन्नु संविधान विरोधी, देशद्रोही हुने। सामाजिक, सांस्कृतिक सद्भाव सरकारबाटै भड्कदै छ । धर्म निरपेक्षताको सामान्य ज्ञान मन्त्रीज्यूमा रहेनछ । ठेकेदारहरुलाई जे बोल्दा नि हुन्छ जस्तो लागेकै हो?"

याे अभिव्यक्तिपछि सामाजिक सञ्जालका माध्यममा किराँतीको राजीनामा समेत माग भइरहेको छ ।

भिडिओ भाइरल भएपछि फेसबुकमा पोस्ट राख्दै मन्त्री किराँतीले लेखेका छन्, "संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो ।"

अहिले आफू सबैको अभिभावक भएकाले सबैको अस्तित्वको सम्मान गर्ने उनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० १४:३०