close

यही १ साउनदेखि नेपालकै पहिलो आँखा अस्पतालको अपोइन्टमेन्ट अनलाइनबाटै लिन सकिने

टेकपाना टेकपाना

असार ७, २०८३ १५:५४

यही १ साउनदेखि नेपालकै पहिलो आँखा अस्पतालको अपोइन्टमेन्ट अनलाइनबाटै लिन सकिने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवाग्राहीलाई सहज, छिटो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले आँखा परीक्षणका लागि अनलाइन सेवा सुरु गर्न लागिएको हो ।

अस्पतालले आगामी १ साउनदेखि घरबाटै समय लिएर आँखा जाँच गराउन सकिने सुविधा उपलब्ध हुने जनाएको छ । अस्पतालका अनुसार यसअघि १ साउन २०८२ देखि विराटनगर स्थित पाइला टेक्नोलोजिजसँगको सहकार्यमा डायनामिक ईएमआर प्रणाली पूर्णरूपमा पेपरलेस बनाइएको थियो ।

सोही प्रणालीको विस्तारस्वरूप अब सेवाग्राहीले अस्पतालमा उपस्थित हुनुअघि नै अनलाइन मार्फत अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको हो । नेपाल आँखा अस्पतालमा दैनिक करिब ८ सय जना बिरामीको आँखा परीक्षण हुने गरेको छ ।

बढ्दो बिरामी चापलाई व्यवस्थित गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा अस्पतालमा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा सञ्चालनमा ल्याउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालका आईटी विभागका दिनेश सञ्जेलका अनुसार अनलाइन अपोइन्टमेन्ट प्रणालीले अस्पतालको सेवा व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस प्रणालीमार्फत बिरामीले आफ्नो अनुकूल समय छनोट गरी घरबाटै अपोइन्टमेन्ट लिन सक्नेछन् । साथै, अपोइन्टमेन्ट बुकिङका क्रममा अनलाइन भुक्तानी गर्ने वा नगर्ने दुवै विकल्प उपलब्ध गराइएको छ ।

अनलाइन अपोइन्टमेन्ट लिन इच्छुक सेवाग्राहीले नेपाल आँखा अस्पतालको आधिकारिक वेबसाइटको Book an Online Appointment नामक ट्याबमार्फत सहज रूपमा बुकिङ गर्न सक्नेछन् । अस्पतालले यस सेवाबाट बिरामीको प्रतीक्षा समय घट्ने, भीड व्यवस्थापनमा सहजता आउने तथा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया थप सरल र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ ।

अस्पतालले सेवाग्राहीलाई अनलाइन अपोइन्टमेन्ट तथा अन्य स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि नेपाल आँखा अस्पतालको आधिकारिक वेबसाइट फेसबुक पेज भिजिट गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८३ १५:५७