close

६ घण्टापछि सञ्चालनमा आए बन्द भएका सरकारी वेबसाइट

टेकपाना टेकपाना

पुस १६, २०८० १८:३६

६ घण्टापछि सञ्चालनमा आए बन्द भएका सरकारी वेबसाइट

काठमाडौं । साइबर आक्रमणका कारण सोमवार विहानदेखि अवरुद्ध नेपाल सरकारका वेबसाइट छ घण्टापछि सञ्चालनमा आएका छन् । महत्त्वपूर्ण सरकारी सेवा नै अवरुद्ध हुने गरी आएको डिडस आक्रमणबाट अपरान्ह ४ बजे छुट्करा मिलेको हो । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार पर्याप्त स्रोत साधनको नहुँदा र बजेट अभावले लाइसेन्स नवीकरण गर्न नसक्दा यस किसिमको समस्या देखिएको हो । उत्पन्न समस्याको विषयमा तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत जानकारी गराइएको केन्द्रका सूचना अधिकारी प्रविन चौहानले बताए । 

"हामीले प्राथमिकताका आधारमा सरकारी वेबसाइटहरूलाई खुलाउन प्रयास गरिरहेका थियौं," उनले भने, "अपरान्ह ४ बजेपछि सम्पूर्ण वेबसाइटलाई नियमित रूपमा सञ्चालनमा आइसकेका छन् ।"

चौहानका अनुसार विभिन्न देशको आईपीबाट सरकारी वेबसाइटहरूमाथि डिडस आक्रमण आएको हो । "सीमित स्रोत साधनका बाबजुद हामी निरन्तर रूपमा सरकारी सूचना प्रविधि प्रणाली नियमित सञ्चालनको प्रयास गरिरहेका छौं," उनले भने ।  

साइबर आक्रमणका कारण सोमवार कार्यालय समय अवधिभर अधिकांश डट जीओभी डट एनपी डोमेन भएका वेबसाइटहरू खुल्न सकेका थिएनन् । 

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १८:३६