close

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीको खिल्ली उडाउने मालदिभ्सका ३ मन्त्री निलम्बित

टेकपाना टेकपाना

पुस २४, २०८० ११:५२

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीको खिल्ली उडाउने मालदिभ्सका ३ मन्त्री निलम्बित

काठमाडौं । सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टका कारण यतिखेर भारत र मालदिभ्सको सम्बन्धमा दरार आएको छ । दुवै देशको सम्बन्ध बिग्रिने गरी सामाजिक सञ्जालमा प्रस्तुत भएपछि मालदिभ्स सरकारले आफ्ना तीन उप मन्त्रीलाई निलम्बित गरेको छ ।

यसरी निलम्बित हुने उपमन्त्रीहरूमा मालशा शरीफ, मारियम शिउना र अब्दुल्ला महजुम मजिद रहेका छन् । उनीहरू तीनै जना त्यहाँको युवा सशक्तीकरण, सूचना तथा कला मन्त्रालय सम्बद्ध रहेका थिए ।

४ जनवरीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लक्षदीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त तस्विरमा कमेन्ट गर्नेहरूले अब भारतीयहरूलाई मालदिभ्स नभई लक्षदीप जानुपर्ने धारणा राखिरहेका थिए ।

प्रधानमन्त्री मोदीले समेत आफ्नो पोस्टमा भारतीयहरूले एक पटक लक्षदीप घुमेर आउनुपर्ने कुरा राखेका थिए । मोदीको तस्विरलाई लिएर माल्दिभ्सकी एक मन्त्री मरियम शिउनाले एक्समा आपत्तिजनक पोस्ट गरिन् ।

जसमा उनले मोदीलाई इजरायलसँग जोड्दै निशाना साँधेकी थिइन् । यस बाहेक उनले लक्षदीपको समेत मजाक उडाइरहेकी थिइन् । माल्दिभ्सका नेता मालशा शरीफ र महजुम माजिद पनि सामाजिक सञ्जालमा भारतलाई घेर्न लागे ।

जाहिर रमिज माल्दिभ्स सिनेटका साथै प्रोग्रेसिभ पार्टी माल्दिभ्सका पनि सदस्य हुन् । उनले मोदीको लक्षदीपको तस्विरलाई लिएर लेखेका छन्, "राम्रो कदम हो, तर हामीसँग प्रतिस्पर्धा गर्ने कुरा भ्रम मात्र हो । भारतीय यति सफासुग्घर कसरी हुन सक्छन् ? उनीहरूको कोठाबाट कहिल्यै नहट्ने गन्ध ठूलो रोकावट हो ।"

सामाजिक सञ्जालमार्फत मालदिभ्समा एक अभियान समेत सुरु गरिएको थियो । जसमा मानिसहरूलाई मालदिभ्स आउनु पर्ने कुरा गरिंदैथियो र त्यहाँको सुन्दरता बारे चर्चा गरिंदै थियो ।

यसैबीच जब मालदिभ्स सरकारका नेताहरूको तर्फबाट प्रधानमन्त्री मोदीको बारेमा आपत्तिजनक टिप्पणी आए, त्यसको जवाफमा भारतीयहरू समेत सामाजिक सञ्जालमार्फत मालदिभ्समाथि आक्रोश पोख्न थाले । बलिउड अभिनेता सलमान खान, अक्षयकुमार, अभिनेत्री श्रद्धा कपुर, क्रिकेटर सचिन तेन्दुलकर लगायत कयौं हस्तीहरूले भारतीय समुद्रमा घुम्ने कुरा गरे ।

यो मामिला चर्किंदै गएपछि मालदिभ्स सरकारले सफाइ दिनु पर्ने अवस्था सिर्जना भयो ।

त्यहाँको सरकारले वक्तव्य जारी गर्दै भन्यो, "जुन कुरा सामाजिक सञ्जालमार्फत भनिंदैछ, त्यो हामीलाई थाहा छ । यो निजी अभिव्यक्ति हो । सरकारसँग त्यसको कुनै नाता छैन । अब यस्तो कुनै अभिव्यक्ति कसैले दिएको खण्डमा कारबाही गर्नबाट हिचकिचिने छैनौं ।"

मालदिभ्स सरकारले उक्त वक्तव्यको केही घण्टामा भारतलाई लिएर आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीहरूलाई निलम्बन गर्‍यो । मालदिभ्सको सञ्चार संस्था द एडिसनका अनुसार लक्षदीपमा पर्यटन बढाउने कुरा गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको फैसलामाथि आपत्तिजनक टिप्पणी गर्ने तीन उपमन्त्रीहरूलाई मालदिभ्स सरकारले निलम्बित गरेको हो ।

"सरकारले उनीहरू विरुद्ध कारबाही गरेको छ । जनताको तर्फबाट यी नेताहरूमाथि एक्सन लिनुपर्ने माग गरिएको थियो । यिनीहरूको अभिव्यक्तिका कारण मालदिभ्सको पर्यटनमाथि असर पर्ने र देशको प्रतिष्ठा खराब भएको बताइएको छ," द एडिसनको समाचारमा भनिएको छ ।

यसैबिच कयौं भारतीयहरूले निश्चित भइसकेको मालदिभ्स भ्रमण रद्द गरिरहेका छन् । मालदिभ्स पुग्ने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै भारतीय हुने गरेका छन् ।

मालदिभ्सका सभामुख मोहम्मद असलमले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री मोदीमाथि केही उपमन्त्रीहरूले गरेको आपत्तिजनक टिप्पणी मालदिभ्सका जनाको सोच नभएको बताएका छन् ।

"भारत र मालदिभ्स सम्मान, सहयोग आदान प्रदान गर्दै आएका छन्, जसबाट दुवैलाई फाइदा हुने गर्छ । आउनुहोस् यो सम्बन्धलाई अझ बलियो बनाउँदै आपसी सम्बन्ध राम्रो बनाऔं ।"

पछिल्लो अध्यावधिक: पुस २४, २०८० ११:५२