close

४ हजारलाई साइबर सुरक्षा सम्बन्धी तीन महिने निःशुल्क अनलाइन तालिम दिँदै काठमाडौं महानगर

टेकपाना टेकपाना

पुस २८, २०८० २०:१९

४ हजारलाई साइबर सुरक्षा सम्बन्धी तीन महिने निःशुल्क अनलाइन तालिम दिँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । माघ २ गतेदेखि महानगरले चार हजारलाई तीन महिनाको अनलाइन तालिम दिने भएको हो । 

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत महानगरले १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखेको छ । सोही अनुरूप साइबर सुरक्षा सम्बन्धी तीन महिने तालिम सुरु हुन लागेको हो ।

महानगरलाई तालिम सञ्चालन गर्न ईसी काउन्सिल र ग्याप टेक्नोलोजिजले सहयोग गर्नेछन् । तालिममा सहभागीलाई स्मार्टफोन, ईमेलहरूमा प्राप्त हुने मेसेज तथा सूचना, इन्टरनेट जडान भएका डिभाइस र यसमा प्रयोग हुने एप्लिकेसनहरूको आधिकारिकता, जोखिमका विषयमा सिकाइने कार्यक्रमका सम्पर्क व्यक्ति अजय पौडलले जानकारी दिए । त्यस्तै प्रोग्रामिङ, नेटवर्किङ र क्लाउडका आधारभूत पक्ष पनि सिकाइने छ ।

“सहभागीहरूले तालिमपछि हुने परीक्षामा सामेल भएर प्रमाणपत्र लिन सक्छन् । साथै महानगरको श्रम बैङ्कमा उनीहरूको नामसमेत सूचीकृत हुन्छ,” पौडलले भने ।

तालिम महानगरले सञ्चालन गर्ने भएता पनि नेपालभर विभिन्न स्थानमा रहेका व्यक्तिहरू सहभागी हुन सक्ने उनले जनाए ।

कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नुपर्ने हुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८० २२:२०