close

भारतमा निःशुल्क उपलब्ध हुँदै आएको फाइभजी सेवा छिट्टै बन्द हुने

टेकपाना टेकपाना

पुस २९, २०८० १४:४७

भारतमा निःशुल्क उपलब्ध हुँदै आएको फाइभजी सेवा छिट्टै बन्द हुने

काठमाडौं । २०२२ देखि भारतीय मोबाइल सेवाप्रदायक जिओ र भारती एयरटेलले उपलब्ध गराउँदै आएको निःशुल्क अनलिमिटेड फाइभजी सेवा छिट्टै बन्द हुने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयरटेल र जिओले प्रोमोसनल अफरका रूपमा फोरजी डेटा प्लानमा प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराउँदै आएको अनलिमिटेड फाइभजी सेवा छिट्टै बन्द हुने भएको हो । विभिन्न विश्लेषकलाई उद्धरण गर्दै भारतीय सञ्चारमाध्यमले जुलाई २०२४ पछि फाइभजीको मूल्य बढ्नसक्ने उल्लेख गरेका छन् ।

इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार प्रिमियम ग्राहकलाई लक्षित गर्दै जिओ र एयरटेलले ल्याएको अनलिमिटेड फाइभजी डेटा प्लान बन्द गर्न लागेका हुन् । उक्त सेवा बन्द भएपछि फाइभजी डेटा प्लान खरिद गर्न ग्राहकले फोरजी डेटाको तुलनामा पाँचदेखि १० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।

मोबाइल सेवाप्रदायकको यो निर्णयले आम्दानी वृद्धि हुने विश्लेषकहरूको अपेक्षा छ । टेलिकम क्षेत्रका विज्ञहरूका अनुसार यी दुई कम्पनीले मोबाइल ट्यारिफ सेप्टेम्बर २०२४ सम्म २० प्रतिशतले वृद्धि गर्ने अनुमान लगाएका छन् । भोडाफोन आइडिया र सरकारको स्वामित्वमा रहेको बीएसएनएलले भने हालसम्म फाइभजी सेवा विस्तार गरिसकेका छैनन् ।

टाइम्स अफ इन्डियाका अनुसार नोभेम्बर २०२३ मा एयरटेलका कार्यकारी निर्देशक गोपाल भित्तलले हालसम्म फाइभजीका लागि अतिरिक्त शुल्क नलिए पनि निकट भविष्यमा सबै मोबाइल प्लानको शुल्क बढाउन एयरटेल तयार भएको अभिव्यक्ति दिएका थिए । उनले औसतमा एक प्रयोगकर्ताबाट लिँदै आएको २०० भारुमा ५० रुपैयाँ बढाएर २५० पुर्‍याउने योजना रहेको बताएका थिए ।

भारतमा जिओ र एयरटेलका १२ करोड ५० लाख बढी फाइभजी ग्राहक छन् । २०२४ को अन्तिमसम्ममा भारतमा फाइभजी प्रयोगकर्ताको सङ्ख्या २० करोड पुग्ने अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १४:४९