close

तीन मोडेलमा सार्वजनिक भयो ‘सामसङ एस२४ सिरिज’, एन्ड्रोइड २१ सम्मको अपडेट पाउने

टेकपाना टेकपाना

माघ ४, २०८० १६:५५

तीन मोडेलमा सार्वजनिक भयो ‘सामसङ एस२४ सिरिज’, एन्ड्रोइड २१ सम्मको अपडेट पाउने

काठमाडौं । सामसङ ग्यालेक्सी एस२४ सिरिज सार्वजनिक भएको छ । बुधवार भएको सामसङ अनप्याक्ड इभेन्टमा कम्पनीले बहुप्रतिक्षित एस२४ सिरिज सार्वजनिक गरेको हो । 

यस सिरिज अन्तर्गत कम्पनीले टप भेरियन्टका रूपमा ग्यालेक्सी एस२४ अल्ट्रा, मिड भेरियन्टमा एस२४ प्लस र बेस भरियन्टमा एस२४ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो सिरिजले सात पुस्तासम्मको ओएस अपग्रेड र सात वर्षसम्म सेक्युरिटी अपडेट पाउनेछ । अर्थात् एस२४ सिरिज खरिद गर्ने प्रयोगकर्ताले एन्ड्रोइड २१ सम्म अपडेट गर्न सक्नेछन् ।

पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनी एप्पल, गुगल र ह्वावेका टप भेरियन्ट स्मार्टफोन बजारमा आइसकेका छन् । यी टप भेरियन्टसँग प्रतिस्पर्धा गर्न सामसङले कस्ता फिचर भएको नयाँ सिरिज सार्वजनिक गर्छ भन्ने धेरैको उत्साह थियो । त्यसैले पनि सामसङ अनप्याक्ड इभेन्टमा मानिसहरूको विशेष आकर्षण थियो । 

एस२४ सिरिजमा कम्पनीले विभिन्न एआई फिचर समावेश गरेको छ । यो सिरिज खरिद गर्ने प्रयोगकर्ताले सामसङका नयाँ एआई फिचर जस्तै; लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, सर्कल टु सर्च लगायतका फिचरमा पहुँच पाउनेछन् । 

सामसङ एस२४ सिरिजमा कम्पनीले ‘प्रो भिजुअल इन्जिन’ समावेश गरेको छ । एआईद्वारा सञ्चालित प्रो भिजुअल इन्जिनले प्रयोगकर्ताले चाहे अनुसार फोटोलाई स्तरीय बनाउने कम्पनीले जनाएको छ । 

कम्पनीले एस२४ सिरिजको टप भेरियन्ट ग्यालेक्सी एस२४ अल्ट्रामा चार ओटा क्यामेरा समावेश गरेको छ । त्यसमा पाँच गुणासम्मको अप्टिकल जुम लेन्स दिइएको छ । 

त्यस्तै यो सिरिजलाई कम्पनीले नाइटोग्राफी फोनका रूपमा अपग्रेड गरेको छ । यसको सहायताले प्रयोगकर्ताले जस्तोसुकै लाइट भएको अवस्थामा पनि जुम गरेर स्तरीय फोटो तथा भिडिओ खिच्न सक्ने कम्पनीको दाबी छ । 

कम्पनीले एस२४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि कम्पनीले हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरेको जनाएको छ ।

एस२४ अल्ट्रामा गेम खेल्ने प्रयोगकर्ताका लागि त्यसमा अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश गरिएको छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भए‍को कम्पनीको भनाइ छ ।

एस२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याट डिस्प्ले, एस२४ प्लसमा ६.७ इन्च र एस२४ मा ६.२ इन्चको डिस्पले दिइएको छ । कम्पनीका अनुसार एस२४ अल्ट्रामा भएको जत्तिकै ग्यालेक्सी एस२४ प्लसले पनि क्यूएचडी प्लस सपोर्ट गर्छ । 

टप भेरियन्ट सामसङ एस२४ अल्ट्रामा कम्पनीले फ्ल्याट स्क्रिन उपलब्ध गराएको छ । कर्भ्ड डिस्प्लेको लोकप्रियता बढ्दै गइरहेको बेला सामसङले भने आफ्नो टप भेरियन्टमा फ्ल्याट डिस्प्ले उपलब्ध गराएको छ । 

एप्पलको आईफोन १५ जस्तै यो सिरिजको फोन टाइटानियम धातुले बनेको छ । विशेषगरी टिकाउ र हलुका हुने भएकाले स्मार्टफोनमा टाइटानियम धातुको प्रयोग बढ्दै गएको छ । 

पाँच गुणा जुम क्षमता भएको यी सिरिजका फाेनमा चार ओटा क्यामेरा दिइएको छ । त्यसमध्ये एस२४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ भने एस२४ र एस२४ प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

एस२४ को सुरुवाती मूल्य ७९९ डलर, एस२४ प्लसको ९९९.९९ डलर र एस२४ अल्ट्राको १२९९ डलर तोकिएको छ । 

कम्पनीका अनुसार यो सिरिज २५ जनवरीपछि बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १८:५६