close

अब फोटोको जानकारी पाउन गुगल लेन्समै जानु नपर्ने !

टेकपाना टेकपाना

माघ ४, २०८० १७:४५

अब फोटोको जानकारी पाउन गुगल लेन्समै जानु नपर्ने !

काठमाडौं । कम्पनीले सामसङसँगको सहकार्यमा इमेज सर्चको नयाँ तरिका सार्वजनिक गरेको छ । ‘डु मोर विथ गुगल’ नाम दिइएको एक परियोजनाका लागि गुगलले गुगल क्लाउड र जेमनाई एआई मोडेल प्रयोग गरेको छ । अब भने यो फिचर प्रयोग गरी प्रयोगकर्ताले सामाजिक सञ्जालको फिड वा ग्यालरीमै गुगल सर्च प्रयोग गर्न सक्नेछन् ।

उदाहरणका लागि सामाजिक सञ्जालको फिडमा कुनै सेलिब्रेटीले आकर्षक चस्मा लगाएको छ । अब उक्त चस्मा कुन कम्पनीको हो वा कस्तो चस्मा हो भन्ने जानकारी पाउन यसअघि प्रयोगकर्ता सबैभन्दा पहिलो फोटो सेभ गर्ने वा स्क्रिनशट लिने गर्थे । त्यसपछि गुगल लेन्स प्रयोग गरेर उक्त चस्माबारे जानकारी लिन्थे ।

यसरी फिडमा देखिएको फोटोको जानकारी पाउन एप बन्द गरेर पुन: गुगल लेन्स खोल्दा समय बढी लाग्ने र ध्यान केन्द्रित नहुने हुँदा त्यो समस्या कम गर्न फोटो जहाँ छ, त्यहीँबाटै गुगल लेन्स प्रयोग गर्न सुविधा सार्वजनिक गरिएको हाे ।

कम्पनीले यसलाई ‘सर्कल टु सर्च विथ गुगल’ नाम दिएको छ । विशेषगरी ग्यालरी वा सामाजिक सञ्जालको फिडमा भएको फोटोलाई प्रयोगकर्ताले गोलो घेरा, केरमेट वा हाइलाइट गरेपछि त्यो भागबारे गुगलमा भएको जानकारी सोझै फोटोको तल देखिन्छ ।

फोटोका लागि मात्र नभइ यो फिचर भिडिओका लागि पनि उपयोगी हुने बताइएको छ । त्यस्तै त्यही फोटोको बारेमा थप कुराहरू गुगलको जेनेरेटिभ एआई प्रयोग गरेरै थाहा पाउन सकिनेछ ।

सुरुवाती अवस्थामा यो फिचर सामसङ ग्यालेक्सी एस२४ सिरिजमा मात्र उपलब्ध हुनेछ । अन्य डिभाइसमा कहिले उपलब्ध हुन्छ भन्नेबारे गुगलले जानकारी दिएको छैन ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १७:४५