close

माघ २२ र २३ मा काठमाडौंमा युवा वैज्ञानिक सम्मेलन हुँदै

टेकपाना टेकपाना

माघ ५, २०८० १३:२०

माघ २२ र २३ मा काठमाडौंमा युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौं । आउँदो २२ र २३ माघमा काठमाडौंमा आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब सेकेन्डरी स्कुल कमलादीको संयुक्त आयोजनामा हुने उक्त शिखर सम्मेलनमा कक्षा ८-१२ मा अध्ययनरत विद्यार्थीहरू शोधकर्ताको रूपमा सहभागी हुन सक्नेछन् । यसका लागि विभिन्न विधा छुट्याइएको सम्मेलन संयोजक जयराम घिमिरेले बताए ।

घिमिरेका अनुसार इन्जिनियरिङ र रोबोटिक्स, लाइफ साइन्स, केमिकल एन्ड एन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्स म्याथम्याटिक्स, कम्प्युटर साइन्स, इन्डिजिनियस नलेज एन्ड टेक्नोलोजी गरी ६ ओटा विधा तोकिएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यी विधामा आफूले गरेको अध्ययन/अनुसन्धानको सार, भिडिओ क्लिप, पोस्टर र मौखिक प्रस्तुति दिनुपर्ने हुन्छ । यसपछि हरेक विधामा उत्कृष्ट हुने विद्यार्थीहरू विजेता घाेषित हुनेछन् ।

आयोजकका अनुसार कार्यक्रममा भाग लिन न्यूनतम एक र बढीमा दुई जना विद्यार्थी सहितको टिम दर्ता गर्नुपर्छ, जसमा एक जना सहजकर्ता अनिवार्य रूपमा राख्नुपर्छ । 

प्रत्येक विधाका विजेताले १३औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिन पाउने संयोजक घिमिरेले जानकारी दिए ।

यसबाहेक विजेताहरूलाई विभिन्न प्रमाणपत्र र पदक प्रदान गरिने छ ।

सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), राष्ट्रिय आविष्कार केन्द्र, युनेस्को नेपाल, रिसर्च एन्ड डेभलपमेन्ट सोसाइटी लगायतका संस्थाहरूको सहयोग हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीले १६ माघभित्र आफ्नो नाम सशुल्क दर्ता गर्नसक्ने छन् ।

कार्यक्रमबारे थप बुझ्न यहाँ र सहभागिता जनाउन यहाँ क्लिक गर्न सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: माघ ५, २०८० १३:२०