close

च्याटजीपीटी र बार्डलाई झड्का दिने गरी सार्वजनिक भएको सामसङको ‘ग्यालेक्सी एआई’ के हो ?

टेकपाना टेकपाना

माघ ५, २०८० १७:३८

च्याटजीपीटी र बार्डलाई झड्का दिने गरी सार्वजनिक भएको सामसङको ‘ग्यालेक्सी एआई’ के हो ?

काठमाडौं । मानव शैलीमा कुरा गर्नसक्ने च्याटबट ‘च्याटजीपीटी’को बढ्दो लोकप्रियतासँगै विभिन्न स्मार्टफोन निर्माता कम्पनीले फोनमा एआई समावेश गरिरहेका छन् । गुगल पिक्सेल ८ सिरिजमा अधिकांश एआई फिचरहरू उपलब्ध गराइएको थियो ।

सामसङले हालै सार्वजनिक गरेको ग्यालेक्सी एस२४ सिरिजमा पनि विभिन्न एआई फिचरहरू समावेश गरिएको छ । सामसङले फोनमा स्तरीय एआई फिचरहरू उपलब्ध गराउन ‘ग्यालेक्सी एआई’ सार्वजनिक गरेको छ । त्यसो भए ग्यालेक्सी एआईमा के कस्ता फिचरहरू छन् ? आज हामी त्यसै विषयमा विस्तृतमा चर्चा गर्दैछौं: 

ग्यालेक्सी एआई के हो ? कसरी काम गर्छ ? 

क्वाल्कमले २०२३ अक्टोबरमा‍ स्न्यापड्रागन ८ जेन थ्री सार्वजनिक गरेको थियो । उक्त चिप सार्वजनिक गर्दैगर्दा क्वाल्कमले स्न्यापड्रागन ८ जेन थ्री चिपसेटमा त्यसकाे क्षमताबारे जानकारी दिएको थियो ।

विशेषगरी यो चिपसेटमा जेनेरेटिभ कामका लागि एआई एल्गोरिदम प्रोसेसर गर्ने क्षमता भएको कम्पनीको दाबी थियो । त्यसमा पनि यो चिपसेटको सहायताले शब्दको भरमा तस्वीर तयार पार्ने ‘स्टेबल डिफ्युजन’ जस्तो एआई मोडेल सञ्चालन भएको देखाइएको थियो । 

त्यसको केही महिनापछि सामसङले क्वाल्कमसँग सहकार्य गरेर त्यस चिपसेटमा भएका सबै क्षमता ग्यालेक्सी एआईको सहायताले नयाँ स्मार्टफोनमा ल्याउने परियोजनामा काम गर्‍यो । अहिले त्यही चिसपसेटद्वारा सञ्चालित एस२४ सिरिजमा विभिन्न एआई फिचरहरू उपलब्ध गराइएको छ ।

ग्यालेक्सी एआई भनेको सामसङको नयाँ एआई सिस्टम हो । यसले यसअघि उपलब्ध फिचरहरूलाई स्यतरीय बनाउनका साथै प्रयोगकर्ताका लागि केही नयाँ एआई टुल उपलब्ध गराउने बताइएको छ । 

सामसङ एस२४ सिरिजमा उपलब्ध गराइएको यस चिपसेटले केही एआई काम गर्न सक्छ । विशेषगरी त्यसमा भएको न्युरल प्रोसेसिङ युनिटको (एनपीयू)को सहायताले फोनलाई एआईसम्बन्धी काम गर्न सघाउँछ । 

यस्तै शक्तिशाली चिपसेट प्रयोग भएको गुगल पिक्सेल फोनमा म्याजिक इरेजर फिचरले इन्टरनेट नहुँदा पनि काम गर्छ । त्यस्तै ग्यालेक्सी एआईले पनि इन्टरनेट कनेक्सन हुँदा वा नहुँदा दुवै अवस्थामा काम गर्ने बताइएको छ ।

 के छन् नयाँ फिचरहरू ?

सामसङले ग्यालेक्सी एआई अन्तर्गत नयाँ एस२४ सिरिजमा विभिन्न फिचरहरू ल्याएको छ । त्यसमा के के फिचर छन् भन्ने विषयमा तल चर्चा गरिएको छ । 

-फोटोग्राफी र भिडिओ

कम्पनीका अनुसार ग्यालेक्सी एआईले फोनबाट खिचेको  फोटो र भिडिओलाई थप स्तरीय बनाउनेछ । विशेषगरी फोनमा समावेध गरिएको प्रो भिज्युअल इन्जिनले एआईसँग सहकार्य गरेर फोटो खिच्दा वा खिसिकेका फोटो एडिटिङ गर्दा क्वालिटी बढाउन सहयोग गर्नेछ । 

ग्यालेक्सी एआईले नै लो लाइटमा खिचेका भिडिओ र फोटोलाई पनि उपयुक्त लाइट राखेर आकर्षक बनाइदिन्छ । डिजिटल जुम गर्दा फोटोमा न्वाइज बढी आउन सक्छ । त्यसमा पनि एआईले न्वाइज घटाइदिने कम्पनीको दाबी छ । ५० मेगापिक्सलको सेन्सरले पाँच गुणा सम्मको अप्टिकल जुम क्षमता प्रदान गर्दछ ।

सामसङ एस२४ सिरिजमा प्रयोगकर्ताले पिक्सेल ८ सिरिज जस्तै म्याजिक इरेजर प्रयोग गर्न सक्नेछन् । फोटोको बोर्डर बढाउनुपर्‍यो, फोटोमा रहेको वस्तुको स्थान परिवर्तन गर्नुपर्‍यो भने सहजै एडिट गर्न सकिनेछ । 

त्यस्तै फोनमा खिचेको सामान्य भिडिओलाई पनि एआईको सहायताले स्लो मोसन क्लिप बनाउन सकिनेछ । एआईले स्लो मोसन बनाउनका लागि भिडिओमा आवश्यक फ्रेम आफैं थपिदिनेछ । अर्थात् तपाईंले १२० फ्रेम प्रति सेकेन्ड खिचेको भिडिओलाई पनि एआईले २४०, ४८० वा ९६० फ्रेम प्रति सेकेन्डको बनाउन सक्छ । यसले गर्दा स्लो मोसन भिडिओ थप स्तरीय देखिन्छ । 

कम्पनीका अनुसार ग्यालरी एपले स्वतः जेनेरेटिभ एडिट प्रयोग गरी वाटरमार्क राखिदिनेछ । 

- ल्याङ्ग्वेज, भ्वाइस र अन्य फिचरहरू 

ग्यालेक्सी एआईमा भाषामा आधारित थुप्रै फिचरहरू दिइएको छ । त्यसमध्ये विशेष फिचरहरूको चर्चा लत गरिएको छ ।

१) लाइभ ट्रान्सलेट 

सामसङको बिल्टइन्ट डायलर एपले वास्तविक समयमै फोन कललाई प्रयोगकर्ताले चाहेको भाषामा अनुवाद गरिदिन्छ । यो फिचरले एआईको प्रयोग गरी आवाजलाई टेक्स्टमा उतारेर त्यसलाई पढेर सुनाउँछ ।

अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरेको भए पनि सामसङ एस२४ सिरिज प्रयोग गर्ने प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । यसका लागि भने इन्टरनेट कनेक्सन आवश्यक पर्छ । यो फिचर प्रयोग गर्दा फोनमा भएको कुरा गोप्य हुने कम्पनीको दाबी छ । 

- इन्टरप्रेटर

हुन त अहिले इन्टरप्रेटरको सुविधा दिने केही एप बजारमा आइसकेका छन् । इन्टरप्रेटर भनेको अर्को व्यक्तिले बोलेको कुरा तपाईंले बुझ्ने भाषामा बुझाइदिने र तपाईंले बोलेको भाषा अर्को व्यक्तिलाई बुझाइदिने भन्ने बुझिन्छ । एआईद्वारा सञ्चालित इन्टरप्रेटेरले प्रयोगकर्तालाई भाषा अनुवादकको काम गरिदिनेछ । यसका लागि भने नेटवर्क नभए पनि हुने भनिएको छ । यद्यपि अफलाइन मोडमा कुन भाषा प्रयोग गर्न सकिन्छ भन्नेमा पूरा जानकारी आइसकेको छैन । 

-च्याट असिस्ट

ग्यालेक्सी एआई समावेश भएको सामसङको कीबोर्डले च्याट असिस्टको काम गर्नेछ । यसले वास्तविक समयमा टेक्स्ट अनुवाद गरिदिनुका साथै प्रयोगकर्ताको कुरा गर्ने शैलीलाई विश्लेषण गरेर त्यही अनुसारको जवाफ सुझाव दिन्छ । तपाईंले यो फिचर प्रयोग गरी व्यवसायिक, क्याजुअल, नम्र वा रोमाञ्चक शैलीले कुरा गर्न सक्नुहुन्छ । 

-नोट असिस्ट 

ग्यालेक्सी एआईले वेबसाइट र डकुमेन्टको सारांश दिनेछ । नोट असिस्ट फिचरले प्रयोगकर्ताले नोटमा राखेका कुरालाई आकर्षक डिजाइमनमा मिलाउन सघाउँछ । 

-ट्रान्सक्रिप्ट असिस्ट 

ग्यालेक्सी एआई सहायताले सामसङ रेकर्डर एपमा ट्रान्सक्रिप्ट असिस्ट फिचर समावेश गरिएको छ । यसको सहायताले एपमा रेकर्ड गरिएका कुरालाई टेक्स्टमा उतार्न सकिन्छ । त्यति मात्र नभइ वास्तविक समयमा कुन व्यक्तिले के कुरा गरेको छ, र मिटिङमा के निष्कर्ष निस्कियो भन्ने कुराको जानकारी दिनेछ । 

- एन्ड्रोइड अटो

ग्यालेक्सी एआईको प्रयोग भएको अर्को फिचर हो एन्ड्रोइड अटो । यसको सहायताले कारमा फोन कनेक्ट गरेको अवस्थामा ग्रुप मेसेजको सारांश इन्फोटेन्मेन्ट डिस्प्लेमा देखिनेछ । त्यस्तै यसमा अटो मेसेज रिप्लाई, अटो नेभिगेसन जस्ता सुविधा पनि दिइएको छ । 

- सर्कल टु सर्च

ग्यालेक्सी एआई मार्फत साङसङ एस २३ मा उपलब्ध भएको हर्को फिचर हो सर्कल टु सर्च । यसका लागि सामसङले गुगलसँग सहकार्य गरेको छ । यससँगै एस२४ प्रयोगकर्ताले फोटोमा गोलो घेरा लगाएमा त्यही गुगल लेन्स खुल्छ र सम्पूर्ण जानकारी फिडमा देखिन्छ । सुरुवातमा सामसङ एस२४ मा मात्र उपलब्ध हुने यो फिचर गुगलको पिक्सेलमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ । 

के ग्यालेक्सी एआई पुरानो सामसङ फोनमा पनि उपलब्ध हुन्छ ?

हुन त कम्पनीले एस२४ सिरिजसँगै ग्यालेक्सी एआई सार्वजनिक गरेको थियो । अर्थात् सुरुवाती अवस्थामा यी फिचर वन यूआई ६.१ मा अपडेटमा उपलब्ध गराइएको छ ।

कम्पनीले अहिलेसम्म सफ्टवेयर तथा हार्डवेयर फिचरहरू महँगा फोनमा मात्र दिएको छैन । अन्य फोनमा पनि यस्ता एक्सक्लुसिभ फिचरहरू उपलब्ध भइरहेका हुन्छन् । त्यसैले पुराना मोडेलमा पनि ती फिचर आउने अपेक्षा गरिएको छ ।

त्यसो त केही फिचरहरू स्नापड्रागन ८ जेन थ्रि चिपसेट वा एक्सिनस २४०० चिपसेट भएको डिभाइसले मात्र सपोर्ट गर्ने भनिएको छ । 

कम्पनीले भने यी फिचर पुरानो मोडेलमा पनि उपलब्ध गराउने सङ्केत दिएको छ । एस२४ सिरिजभन्दा अगाडिका फोनमा अहिले वन यूआई ६.० अपडेट उपलब्ध छ । त्यसैले वन यूआई ६.१ अपडेट आइसकेपछि यी फिचर पुराना फोनमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १८:५५