close

चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने पाँचौं देश बन्यो जापान

टेकपाना टेकपाना

माघ ६, २०८० १३:२७

चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने पाँचौं देश बन्यो जापान

काठमाडौं । चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपिएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) अर्थात् मुन स्‍नाइपर चन्द्र मिसन सफल भएसँगै जापान उक्त सूचीमा थपिएको हो । यससँगै अमेरिका, तत्कालीन सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश जापान बनेको छ ।

जापानी यान नेपाली समयअनुसार शुक्रवार बेलुकी ९:०५ बजे यानले चन्द्रमाको सतह टेकेको हाे । तर यानको सोलार सेलले भने विद्युत् उत्पादन गर्न बन्द गरेको बताइएको छ । त्यसो हुँदा चन्द्र सतहमा वैज्ञानिक परीक्षण गर्न यान सक्षम हुने छैन ।

“यानले ब्याट्रीको भरमा मात्र काम गरिरहेको छ । हामीले यसको डेटालाई पृथ्वीमा पठाउने कामलाई प्राथमिकता दिइरहेका छौं”, जापानी अन्तरिक्ष एजेन्सी जापान एरोस्पेस एक्प्लोरेसन एजेन्सी (ज्याक्सा)का प्रमुख हिरोशी यामाकावाले भनेका छन् । 

१. सी अफ ट्यान्क्विलिटी २. एपोलो ११ अवतरण क्षेत्र ३. मुन स्‍नाइपरको अवतरण क्षेत्र ४. चन्द्रयान-३ अवरतण क्षेत्र                                                                         तस्विर स्रोत: सीएनएन

मुन स्नाइपरलाई सक्रिय बनाउन हिटर बन्द गर्नेजस्ता काम गरेपनि चन्द्र सतहमा केही घण्टामात्रै ब्याट्री टिक्ने बताइएको छ । सोही कारण सोलार प्यानलहरूलाई सूर्यको प्रकाशले तताउने आशा गरिएको यामाकावाले उल्लेख गरे । उनका अनुसार यान निर्धारित लक्ष्यभन्दा १०० मिटरभित्र अवतरण भएकाे थियाे ।

सामान्यतः आफ्नो लक्ष्यदेखि केही किलोमिटर वरपर यानहरू सतहमा अवतरण हुन्छन् । तर यस चन्द्र मिसनले आफ्नो लक्ष्यको १०० मिटर आसपासमा अवतरण गरेको थियो । सोही कारण यसलाई मुन स्नाइपर भन्ने गरिएको छ ।

यो मिसन यहीँ सकिए पनि यानमा प्रयोग भएको यो प्रविधि भविष्यको लागि उपयोगी हुने र सोही प्रविधिमार्फत भविष्यमा अक्सिजन र पानीको स्रोत हुनसक्ने चन्द्रमाका भागहरूमा पुग्न सकिने ज्याक्साको विश्वास छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८० १३:४४