काठमाडौं । नवनियुक्त स्वास्थ्य जनसङ्ख्यामन्त्री तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अस्पतालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत घरबाटै अपोनमेन्ट लिन सकिने व्यवस्था मिलाउने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथपछि पदभार समाल्दै मन्त्री यादवले सङ्घीय तथा प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्ने समय छिटो छरितो तुल्याउने घोषणा समेत गरेका छन् ।
“अहिले आवश्यक सर्जरीको अपोइनमेन्ट लिन बिरामीहरूले लामो लाइन बस्नु पर्ने अवस्था रहेको छ,” पदभार ग्रहणपछि पत्रकारसँगको कुराकानीमा उनले भने, “त्यसलाई सहज बनाउन घरबाटै अनलाइन एवं डिजिटल प्रविधिमार्फत अपोइनमेन्ट लिने व्यवस्था मिलाउन आवश्यक कार्यहरू गरिने छ ।”
त्यस्तै सहज रूपमा स्वास्थ्य उपचार सबैको पहुँचमा कसरी पुर्याउने भन्ने विषय अहिलेको चुनौती रहेको उनले बताए । साथै स्वास्थ्य सेवा ऐन, २०५३ ऐनलाई एकीकरण गरी नयाँ स्वास्थ्य सेवा ऐनलाई तर्जुमा गर्ने तीन ओटा निर्णय उनले गरेका छन् ।
जसपा अध्यक्ष समेत रहेका यादव गत १० वैशाखमा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । उनले यसअघि पनि सोही जिम्मेवारी करिब डेढ वर्षसम्म सम्हालेका थिए । यसअघि नेपालका ठूला सरकारी अस्पतालले अनलाइनबाटै डाक्टरको अपोइन्टमेन्ट लिने व्यवस्था मिलाएका छन् । यद्यपि उक्त प्रणाली प्रभावकारी हुन सकेको छैन ।