close

आउटसोर्सिङ वा फ्रिल्यान्सिङ गर्न कम्पनी दर्ता अनिवार्य

टेकपाना टेकपाना

फागुन २९, २०८० १४:४१

आउटसोर्सिङ वा फ्रिल्यान्सिङ गर्न कम्पनी दर्ता अनिवार्य

काठमाडौं  । आउटसोर्सिङ गर्न व्यक्ति वा कम्पनीले व्यवसाय दर्ता गर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा आउटसोर्सिङमार्फत उद्योग व्यवसाय सञ्चालन गर्न सकिने सम्बन्धमा यस्तो प्रावधान प्रस्ताव गरिएको हो ।

यसअनुसार कुनै पनि व्यक्ति वा संस्थाले आउटसोर्सिङमार्फत उद्योग व्यवसाय सञ्चालनका लागि अनिवार्य रूपमा प्रचलित कानून बमोजिम दर्ता गर्नुपर्ने भनिएको छ । त्यस्तै दफा ७६ को उपदफा (२) मा व्यवसाय दर्ता गर्नका लागि अनिवार्य रूपमा विभागको सिफारिस लिनुपर्ने उल्लेख छ । सोही दफाको उपदफा (३) मा आउटसोर्सिङ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने जनाइएको छ । 

मस्यौदामा आउटसोर्सिङको परिभाषा र यो नियम पालना नगरे कसुर मानिने वा नमानिने केही उल्लेख गरिएको छैन । 

आउटसोर्सिङ एउटा व्यवसायीक अभ्यास हो, जहाँ कुनै कम्पनी वा व्यक्तिले बाह्य पक्ष वा तेस्रो-पक्ष सेवा प्रदायकसँग निश्चित काम, परियोजना, वा प्रक्रिया सम्पन्न गर्नका लागि सम्झौता गरेको हुन्छ ।

विशेषगरी कम्पनीमा आवश्यक परेको काम तर त्यसलाई सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति वा स्रोत साधन नभएको अवस्थामा कम्पनी वा व्यक्तिले यस्ता काम अर्को पक्षलाई गर्न दिएकाे हुन्छ । यसरी आफ्नो काम अर्को पक्षलाई गर्न दिने प्रक्रिया नै आउटसोर्सिङ हो । 

कम्पनी वा व्यक्तिले आउटसोर्सिङका रूपमा तेस्रो पक्षलाई काम गर्न दिन्छन् । त्यस्तो तेस्रो पक्ष कम्पनी वा व्यक्ति जो पनि हुन सक्छ । उक्त तेस्रो पक्ष व्यक्ति भए त्यसलाई फ्रिल्यान्सर भनिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० १४:५७