close

‘हाइप्रोफाइल’ संलग्न मुद्दाको सुनुवाइ अनलाइबाट प्रत्यक्ष प्रसारण गर्दै विशेष अदालत

टेकपाना टेकपाना

चैत ४, २०८० १४:५४

‘हाइप्रोफाइल’ संलग्न मुद्दाको सुनुवाइ अनलाइबाट प्रत्यक्ष प्रसारण गर्दै विशेष अदालत

काठमाडौं । विशेष अदालतले ‘हाइप्रोफाइल’ संलग्न मुद्दाको बहस अनलाइनबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अदालतलाई डिजिटाइजेसन गर्ने उद्देश्य अनुरूप जनचासो रहेका मुद्दाको बहस अनलाइनबाट प्रसारण गरिन लागेको हो ।

यसका लागि सर्वोच्च अदालतसँग अनुमति मागिएको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए । उनका अनुसार सबै काम योजना अनुरूप भए चैत महिनाभित्रै प्रत्यक्ष प्रसारणको काम सुरु हुनेछ ।

“हाइप्रोफाइल व्यक्तिहरू सम्मिलित मुद्दामा धेरैको चासो हुनाले सुनुवाइ हुँदा इजलास भरिभराउ हुने गरेको छ । अब के-कसरी गर्ने भनेर निश्चित भएपछि हामी बहस लाइभ गर्छौं । अहिले प्राविधिक तयारी गरिरहेका छौं,” उनले टेकपानासँग भने ।

सुनुवाइको प्रत्यक्ष प्रसारण गर्दा सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी समेत हुने विश्वास गरिएको छ । विशेष अदालतले यसअघि बकपत्र भर्चुअल रूपमा हुने व्यवस्था गरिसकेको छ । अब त्यसलाई थप व्यवस्थित गर्ने र कानून व्यवसायीले घरबाटै बहस गर्न सक्नेजस्ता सुविधा थप्ने अदालतकाे योजना छ ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८० १५:१०