close

एलन मस्कले खुलाए आफ्नो कम्पनीले बनाएको ग्रोक एआईको सोर्स कोड

टेकपाना टेकपाना

चैत ५, २०८० १२:५०

एलन मस्कले खुलाए आफ्नो कम्पनीले बनाएको ग्रोक एआईको सोर्स कोड

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले आफ्नो कम्पनीको एआई टुल ओपन सोर्स मोडेलमा सबैका लागि उपलब्ध गराएका छन् । गिटहबमार्फत मस्कको कम्पनी एक्सएआईले ग्रोक एआई मोडेलको बेस कोड सार्वजनिक रूपमा उपलब्ध गराएको हो । 

मार्च २०२३ मा मात्रै सार्वजनिक गरिएको ग्रोक एआई मोडेललाई ओपन सोर्स गर्नेबारे मस्कले गत हप्ता सङ्केत दिएका थिए । त्यसको केही समय भित्र मस्कले ग्रोक एआईलाई ओपन सोर्स बनाएका हुन् ।

ग्रोक एआईलाई ओपन सोर्सका रूपमा उपलब्ध गराइए पनि ट्रेनिङ कोड भने उपलब्ध गराइएका छन् । ब्लग पोस्टमार्फत एक्स एआईले सार्वजनिक गरेको ओपन सोर्स मोडेल कुराकानी गर्ने जस्ता विशेष एप्लिकेसनको स्तरमा भने छैन । त्यस्तै यो मोडेललाई 'अपाचे लाइसेन्स २.०' मा आधारित इजाजत दिएको छ । जसले व्यावसायिक प्रयोग को अनुमति भने दिन्छ । 

हाल ग्रोक एआई एक्सका प्रिमियम प्लस प्रयोगकर्ताले चलाउन पाउँछन् । कतिपय अवस्थामा यस एआईले एक्सका डेटामा पहुँच समेत पाउँछ । ओपन सोर्स मोडेलमा भने सामाजिक सञ्जालसँग सम्बन्धित डेटा नभएको बताइएको छ । 

मस्कको यो निर्णयलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । किनकी ग्रोकको यही मोडेलमा रहेर रिसर्चर र डेभलपरले मोडेल निर्माण गर्न र ग्रोकको अपडेटमा समेत भूमिका खेल्न सक्छन् । कतिपयले भने मोडललाई दुरुपयोग गर्न सक्ने भन्दै मस्कको यो कदमको खण्डन समेत गरेका छन् ।

तर मस्क भने आफ्नो एआई मोडेल ओपन सोर्स नगर्ने कम्पनीमाथि कडा टिप्पणी गर्दै आएका छन् । जसमा ओपनएआई उनको प्रमुख निशानामा छ । जुन कम्पनी स्थापना गर्न उनको समेत भूमिका रहेको थियो । सोही कम्पनी गैरनाफामुखी तथा मानवीय हितका लागि काम गर्ने भनेर स्थापना भएपनि अहिले नाफामुखी बनेको भन्दै मस्कले मुद्दा समेत हालेका छन् ।

हाल एक्स एआई बाहेक अन्य ठूला कम्पनीले समेत आफ्नो एआई मोडेललाई ओपन सोर्सको रूपमा उपलब्ध गराएका छन् । जसमा मेटादेखि गुगलसम्म रहेका छन् । मेटाको एललामा (LLaMa), गुगलको जेम्मा टूबी र जेम्मा सेभेन बी, मिस्ट्रल, फाल्कन लगायतका एआई मोडेल ओपन सोर्सको रूपमा उपलब्ध छन् । ग्रोक एआईको बेस कोड हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १३:३१