काठमाडौं । टेस्लाले एक्सिलेटर पेडलमा समस्या देखिएपछि ग्राहकहरूलाई बेचिसकेको सबै साइबर ट्रक फिर्ता बोलाएको छ । पेडललाई अलि जोडले थिच्दा गाडीको भित्र अड्किने समस्या देखिएपछि बिक्री गरिसकेका तीन हजार ८७८ साइबर फिर्ता बोलाइएको हो ।
ट्रक उत्पादनका क्रमका ग्यास पेडलमा उचित ग्लुको सट्टा लुब्रिकेन्ट (साबुन) प्रयोग गर्नाले समस्या आएको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन (एनएचटीएसए) का अधिकारीले बताएका छन् । त्यसले पेडललाई ढिलो बनाएको र अड्किने समस्या निम्त्याएको उनीहरूको भनाइ छ ।
यो समस्याबाट १३ नोभेम्बर, २०२३ देखि ४ अप्रिल २०२४ सम्म उत्पादन गरेर बिक्री गरिएका सबै साइबर ट्रक प्रभावित भएका छन् । जुन गत वर्ष साइबर ट्रक सार्वजनिक गरे यताका सबै युनिट हुन् ।
यो समस्या सतहमा आउनुअघि अमेरिकामा साइबर ट्रकको डेलिभरीमा ढिलाइ आएको थियो । त्यसको कारण पनि यही समस्या भएको अनुमान गरिएको छ । यद्यपि टेस्लाले बेचिसकेको गाडी भारी मात्रामा फिर्ता बोलाएको यो पहिलो पटक भने होइन । यस अघि पनि कम्पनीले थुप्रै पटक यस्तो गरिसकेको छ ।