close

आफूलाई टिकटक नबेचे प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसदबाट पारित

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १६:२२

आफूलाई टिकटक नबेचे प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसदबाट पारित

 

काठमाडौं । टिकटक स्वामित्व आफूलाई नबेचे पूर्ण रूपमा प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसदबाट पारित भएको छ । याेसँगै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफ्नो स्वामित्वको हिस्सेदारी अमेरिकालाई नदिने भनी अडान लिएमा टिकटकमाथिको प्रतिबन्ध अबको केही दिनदेखि नै लागू हुने सम्भावना रहेको छ ।

हिजो अप्रिल २० मा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउन विधेयक पारित गरेको हाे । विधेयक पारित भएसँगै टिकटकमाथि प्रतिबन्ध लाग्ने सम्भावना प्रबल बन्दै गएको एनबीसी न्युजले जनाएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । यस्तै प्रकारको विधेयक गत महिना प्रतिनिधि सभाले पारित गरेको थियो, तर उक्त विधेयक सिनेटमा अड्किएपछि अर्को विधेयक पारित भएको हो । 

एनबीसी न्युजका अनुसार प्रतिनिधि सभाले पारित गरेको विधेयक अब अर्को हप्ता सिनेटमा पुग्छ । कानून बन्नको लागि यस विधेयक सिनेटबाट पारित भई राष्ट्रपतिले अनुमोदन गर्नुपर्नेछ । त्यस्तै यस विधेयक सिनेटबाट पारित भई अमेरिकी राष्ट्रपति जो बाइडेन कहाँ पुगेपछि सजिलै अनुमोदन हुने सम्भावना रहेको एनबीसी न्युजमा उल्लेख छ ।

टिकटकको चीनसँगको सम्बन्धको कारण अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषय उठेको हो । चीनले अमेरिकी टिकटक प्रयोगकर्ताका माध्यमबाट ठूलो मात्रामा डेटा संकलन गरिरहेको चिन्ताका कारण टिकटक प्रतिबन्धित हुनुपर्नेमा अमेरिकाले जोड दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १६:२४