टिकटक बनाउन भन्दै लगेको ब्रासलेट फिर्ता माग्दा ह्वाट्सएपमा गाली दिएपछि साइबर अपराधको मुद्दा
असार १५, २०८३ १३:४४
काठमाडौं । टिकटक भिडिओ बनाउने बाहनामा सुनको ब्रासलेट लगेर फिर्ता गर्नुको साटो मेसेजिङ एप ह्वाट्सएप मार्फत अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिएको आरोपमा एक महिलाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सिन्धुपाल्चोकले ओखलढुंगाकी ३३ वर्षीया मनिषा पौडेल (केसी) विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतमा अभियोग-पत्र दर्ता गरेको हो ।
अभियोगपत्रअनुसार, काठमाडौंको निदान अस्पताल अगाडिको चिया पसलमा यो घटनाको सुरुवात भएको थियो । जाहेरवाली स्वस्तिका बस्नेतका दाइ नाता पर्ने रविन्द्र चापागाईंलाई चिया पिउन बोलाएर प्रतिवादी मनिषाले 'टिकटक बनाउँछु' भन्दै सुनको ब्रासलेट आफैँले फुकालेर लगेकी थिइन् । अनुसन्धानमा दाबी गरिएअनुसार, एकछिन लगाउँछु भनेर ब्रासलेट लिएकी उनी त्यसपछि त्यहाँबाट निस्केर हिँडेकी थिइन् र पछि सम्पर्क गर्दा पनि सामान फिर्ता गरिनन् ।
ब्रासलेट फिर्ता नपाएपछि जाहेरवाली स्वस्तिका बस्नेतले ह्वाट्सएपबाट प्रतिवादी मनिषालाई मेसेज गर्दै सामान फिर्ता मागेकी थिइन् । तर, ब्रासलेट फिर्ता गर्नुको साटो मनिषाले ह्वाट्सएपमार्फत पटक-पटक भ्वाइस मेसेज पठाएर अश्लील शब्दको प्रयोग गर्नुका साथै चरित्रहत्या गर्ने र ज्यान मार्नेसम्मको धम्की दिएको अभियोगपत्रमा उल्लेख छ ।
प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएको भन्दै सरकारी वकिल कार्यालयले मनिषा विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कारबाहीको मागदाबी गरेको छ । उक्त दफाअनुसार कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
यसका साथै, फिर्ता नदिएको सुनको ब्रासलेटको मूल्य बराबर एक लाख २० हजार ३५६ रकम वा सोही ब्रासलेट प्रतिवादीबाट भराई पाउन र अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति दिलाउनसमेत मागदाबी लिइएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले ह्वाट्सएपमा पठाइएका भ्वाइस मेसेजहरूलाई विद्युतीय प्रमाणका रूपमा पेनड्राइभमा सुरक्षित गरी अदालतमा पेस गरेको छ । साथै कल डिटेल रेकर्ड समेत अनुसन्धान मिसिलमा समावेश गरिएको छ ।
अभियोगपत्रअनुसार प्रतिवादी मनिषा पौडेल हाल 'फरार' रहेकी छन् । फरार प्रतिवादीको नाममा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम समाह्वान (अदालतमा हाजिर हुन पठाइने पत्र) जारी गरी कानुनी कारबाही अगाडि बढाउन अदालत समक्ष अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८३ १४:८
