close

युवा पलायन रोक्न गाउँमै अनलाइन लोकसेवा तयारी कक्षा

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १४:२२

युवा पलायन रोक्न गाउँमै अनलाइन लोकसेवा तयारी कक्षा

काठमाडौं । पर्वत जिल्लाको विहादी गाउँपालिकाले सराकारी जागिरमा लाग्न चाहने युवालाई लक्षित गरी विभिन्न किसिमका तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने भएको छ । ईलर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिसँगको सहकार्यमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका २०० बढी युवालाई घरमै बसेर अनलाइन माध्यमबाट पढ्नका लागि छात्रवृत्ति प्रदान गरेको हो ।

युवाहरूले आफ्नो इच्छा र आवश्यकता अनुसार लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ तथा विभिन्न संस्थानहरूको तयारी कक्षा लिन पाउनेछन् । त्यस्तै गाउँपालिकाले आवश्यकता अनुसार निश्चित स्थानमा प्रोजेक्टर राखेर सहभागी सबैका लागि हुने गरी एम्बिसन गुरुको लाइभ कक्षासमेत सञ्चालन गर्नेछ ।

यो शैक्षिक कार्यक्रम एक वर्ष अवधिको हुने बताइएको छ । त्यसका लागि गाउँपालिकाले इच्छुक युवाहरूको नाम र सम्पर्क नम्बर सहितको विवरण एम्बिसन गुरुलाई उपलब्ध गराउने छ ।

छात्रवृत्ति कार्यक्रममा सहभागी हुन इच्छुकहरूको विवरण संकलनका लागि गाउँपालिकाले सम्पर्क व्यक्ति तोकिदिएको छ । त्यसअघि गाउँपालिकाको समन्वयमा एम्बिसन गुरुले ११७ जना स्थानीय युवालाई तयारी कक्षा लक्षित अभिमुखीकरण तालिम दिएको थियो ।

विद्यार्थीहरु अनलाइनमार्फत बिहान र साँझको समयमा लाइभ कक्षामा सहभागी हुन पाउनेछन् भने अफलाइनमा पढ्नका लागि समेत रेकर्डेड भिडिओ र नोटहरु उपलब्ध गराइने एम्बिसन गुरुकी सूचना अधिकारी साजना तामाङले बताइन् ।

युवा जनशक्तिलाई गाउँमै अवसर सिर्जना गरी युवा पलायन रोक्न यस्तो प्रयास गरिएको गाउँपालिका अध्यक्ष प्रविन गुरुङले जानकारी दिए ।

गाउँपालिकाका शिक्षा अधिकारी दिनेस भुसालले, गाउँमा राम्रा शिक्षक र युवाहरुको आवश्यकता अनुसारका कक्षा सञ्चालन नहुँदा विभिन्न परीक्षाको तयारीकै लागि युवाहरु जिल्ला बाहिर जानुपर्ने अवस्था राेक्न तथा आर्थिक भार घटाउन अनलाइन माध्यमको पढाइ सुरु गरिएको बताए ।

यो पहलले गाउँपालिकाभित्रै पनि रोजगारीको सिर्जना हुनसक्ने र घरमै बसेर युवाहरूले आफ्नो शैक्षिक आवश्यकता पूरा गर्ने विश्वास लिइएको छ ।​

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १५:४९