काठमाडौं । एक्स-एजले नेपाली बजारमा आफ्नो स्मार्टफोन स्न्यापको मूल्य घटाएको छ । एक्स-एजले बुधबारदेखि लागु हुने गरी आफ्नो उक्त फोनको मूल्य १५ सय रुपैयाँले घटाएको हो ।
यसअघि यो फोनको बजार मूल्य १५ हजार रुपैयाँ रहेको थियो । अब यो नयाँ फोनको मूल्य साढे १३ हजार रुपैयाँ कायम हुनेछ । एक्स-एजको स्न्याप फोनमा प्रिमियम टेक्स्चर, स्तरीय बनावट गुणस्तर र तीन ओटा क्यामेराको सेटअप पाउन सकिन्छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र दुई मेगापिक्सेलको डेफ्थ सेन्सर रहेको छ ।
फोनमा ६.८२ इन्चको आईपीएस एलसीडी पञ्च होल डिस्प्ले छ । जसमा आठ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सकिन्छ । मूल्य अनुसार फोनमा भएका क्यामेराको गुणस्तर ठिकठाक नै मान्नुपर्छ । एउटा बजेट फोनको नवप्रवेशी मोडेलबाट उत्कृष्ट क्यामेरा गुणस्तर पनि अपेक्षा गर्न सकिन्न । क्यामेरामा पानोरमा, प्रो, भिडिओ र टाइम ल्याप्स मोड भने रहेका छन् ।
फिचरको रूपमा यसमा अल्ट्रा वाइड क्यामेरा र अल्ट्रा वाइड भिडिओ पनि छ । भिडिओको कुरा गर्दा यसको मुख्य क्यामेराले फुल एचडी ३० एफपीएसमा र सेल्फी क्यामेराले ७२० रेजोलुसनमा ३० एफपीएस भिडिओ रेकर्ड गर्न सक्छ । फोनको यूआई पनि प्रयोगकर्ता मैत्री नै छ ।
जोकोहीले एकै छिनको प्रयोगमा पनि फोनलाई मजाले चलाउन सक्छन् । यसका साथै फोनमा १२० हर्जको रिफ्रेश रेट दिइएको छ । यसमा प्रोसेसर भने युनिसक टी ६०६ प्रयोग गरिएको छ । जुन सामान्य बजेट स्मार्टफोनमा प्रयोग गरिएको हुन्छ । यसबाट पनि सामान्य कामहरू मात्र गर्न सकिन्छ । एक्स-एज स्न्यापमा २.४ का साथै ५ गिगाहर्जको वाईफाई सपोर्ट पाउन सकिन्छ । सुरक्षाका लागि फोनमा साइड माउन्ट फिङ्गरप्रिन्ट, फेसलक, पिन, प्याटर्न आदि दिइएका छन् । त्यस्तै यसमा ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज पाउन सकिन्छ ।