close

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआउँदा ३ महिनादेखि एनआईएमबीको एसआईपी युनिट पेन्डिङ !

टेकपाना टेकपाना

बैशाख २५, २०८१ १६:९

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआउँदा ३ महिनादेखि एनआईएमबीको एसआईपी युनिट पेन्डिङ !

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) प्रबन्धक रहेको एनआईएमबी एस क्यापिटलको व्यवस्थित लगानी योजना (एसआईपी)मा गरेको लगानी विवरण ग्राहकले तीन महिनायता हेर्न पाएका छैनन् । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा इकाइधनीहरूले आफ्नो डिम्याट अकाउन्टमा खुलामुखी सामूहिक लगानी योजना 'एनआईबीएल सहभागिता फण्ड'को युनिट हेर्न नपाएका हुन् । 

गएको २० पुसदेखि अध्यक्षविहीन बनेको धितोपत्र बोर्डमा अहिलेसम्म सरकारले नयाँ नियुक्त गर्न सकेको छैन । यता एनआईबीएलले आफ्नो एनआईबीएल सहभागिता फण्डको आकार बढाएको छ । तर त्यसैको अनुमति नआउँदा इकाइधनीले डिम्याट अकाउन्टमा एसआईपी युनिटको विवरण हेर्न नपाएका हुन् । अहिले डिम्याट अकाउन्ट र एनआईबीएल एस क्यापिटलको वेबसाइटमा इकाइधनीले हेर्दा एसआईपी पेन्डिङ रहेको देखिन्छ ।

“हाम्रो योजनाको आकार तीन अर्बको बनाउन बोर्डमा निवेदन दिएका थियौं । तर अनुमतिका लागि हस्ताक्षर गर्ने अध्यक्ष नहुँदा पर्चेज गरेका युनिटहरू पेन्डिङ देखाइरहेका छौं,” एनआईएमबी एस क्यापिटलका एक अधिकारीले भने, “यदि योजना आकार नबढाएको भए समस्या आउँदैन थियो ।”

त्यस्तै धिताेपत्र बोर्डका एक कर्मचारीले पनि एनआईएमबी एस क्यापिटलले निवेदन दिएको पुष्टि गरे । उनका अनुसार अध्यक्ष नहुँदा योजनाको आकार बढाउने कुरा स्वीकृत हुन बाँकी छ । यद्यपि अहिले आफ्नो पोर्टफोलियोमा युनिट नदेखिँदा ग्राहकलाई चिन्ता भए पनि कुनै समस्या नहुने एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १६:१७