काठमाडौं । अनलाइनमार्फत कानूनी सेवा उपलब्ध गराउने कम्पनी मेरोअड्डा र प्रविधि कम्पनी कोडर्याम्पबीच सहकार्य भएको छ । कानूनी सेवालाई प्रविधिमार्फत थप प्रभावकारी बनाउने उद्देश्यका साथ यी दुई कम्पनीबीच हालै सहकार्य भएको हो ।
कोडर्याम्पले नेपालका डेभलपर र विदेशी कम्पनीहरूबीच सहकार्यका लागि वातावरण सिर्जना गर्दै आएको छ । आगामी दिनमा कानूनसँग सम्बन्धित प्रविधि तथा प्रोडक्ट विकासका लागि यो साझेदारी महत्त्वपूर्ण सावित हुने बताइएको छ ।
यसअन्तर्गत ल फर्म, वकिल, कर्पोरेट हाउस तथा सर्वसाधारण सबैलाई सम्बोधन गर्नेगरी विभिन्न सेवा ल्याउने कम्पनीहरूले जनाएका छन् । उनीहरूका अनुसार यो सहकार्य नेपालको कानूनी क्षेत्रलाई डिजिटल रुपमा रुपान्तरणका लागि महत्त्वपूर्ण कदमको रूपमा रहेको छ ।
“मेरोअड्डा नेपालको कानूनी परिदृश्यलाई नवीन प्रविधिको माध्यमबाट परिवर्तन गर्न प्रतिबद्ध छ,’’ मेरोअड्डाका सहसंस्थापक तथा सीईओ आलोक सुवेदीले भने, ‘‘कोडर्याम्पसँगको सहकार्यले हामीलाई हाम्रो उत्पादन विकासमा गति प्रदान गर्नुका साथै ग्राहकले विश्वस्तरीय लिगल टेकको अनुभव गर्न पाउनेछन् ।’’
सहकार्यको विषयमा बोल्दै कोडर्याम्पका संस्थापक तथा सीईओ लिजान प्रधानाङ्गले भने, ‘‘हामी मेरोअड्डासँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । यो सहकार्यले कानूनी समुदायलाई मात्र नभई नेपालको समग्र प्राविधिक विकासमा पनि योगदान पुर्याउने छ ।’’