close

के तपाईंलाई साँच्चै १०० इन्चको टिभी चाहिन्छ ?

टेकपाना टेकपाना

जेठ ६, २०८१ १२:८

के तपाईंलाई साँच्चै १०० इन्चको टिभी चाहिन्छ ?

काठमाडौं । अहिले बजारमा विभिन्न आकारका टेलिभिजन उपलब्ध छन् । बजेट र आवश्यकता अनुसार तपाईं आफूले लिने टेलिभिजनको आकार छान्न सक्नुहुन्छ । 

पछिल्लो समयमा परम्परागत तरिकाले टेलिभिजन हेर्ने प्रवृत्ति कम हुँदै गइरहेको छ । अहिले इन्टरनेट चल्ने स्मार्ट टेलिभिजनका कारण टेलिभिजन हेर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ । त्यसो हुँदा साथीहरूसँग मिलेर गेम खेल्ने, विभिन्न ओटीटी प्लेटफर्मबाट फिल्म हेर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दो छ ।

यसका लागि ठूलो आकारमा टेलिभिजन लिने चलन बढ्दो छ । किनकि ठूलो स्क्रिनले दिने अनुभव छुट्टै हुन्छ । आज हामी ठूलो स्क्रिन मध्येको १०० इन्चको टेलिभिजनको कुराकानी गर्दै छौं ।

बजारमा सबैभन्दा पहिले एलजी फिलिप्स (जेभी) ब्रान्डले २००६ मा १०० इन्चको टेलिभिजन ल्याएको हो । तर यसको बढी मात्रामा उत्पादन हुन थालेको धेरै भएको छैन । अहिले सोनी, हाइसेन्स, सामसङ लगायतका अन्य प्रमुख टिभी उत्पादक कम्पनीहरूले १०० इन्चको टेलिभिजन उत्पादन गरिरहेका छन् ।

आजभोलि नेपालमा पनि सहरी क्षेत्रतिर ठूलो आकारका टेलिभिजन राख्ने प्रचलन बढ्दो छ । त्यसै सन्दर्भमा १०० इन्चको टेलिभिजनका फाइदा/बेफाइदाबारे यस लेखमा चर्चा गरिएको छ: 

१०० इन्चको टिभीको फाइदा 

जति ठूलो टिभी त्यति राम्रो भिजुअल हुने गर्छ । घरमा यो आकारको टिभी राखेपछि तपाईंलाई फिल्म हेर्न थिएटर गइरहनु पर्दैन । आफ्नै घरमा बसेर सिनेमाटिक अनुभव पाउन सक्नुहुन्छ ।

यदि तपाईं गेमिङको फ्यान हुनुहुन्छ भने यस प्रकारका टिभीले तपाईंलाई पछुताउने अवसर दिँदैन । ठूलो स्क्रिनमा गेम खेल्दाको अनुभव तपाईंले अन्त्य कतै पाउनुहुन्न । नाम नै लिएर भन्नु पर्दा 'कल अफ ड्युटी', 'ब्याटल फिल्ड' जस्ता गेम खेल्दा तपाईंले स्पष्ट रूपमा कुनै पनि चालहरू देख्नुहुन्छ ।

बेफाइदा  

जति ठूलो टिभी, शुल्क पनि त्यति नै बढी हुन्छ । अर्थात् १०० इन्चको टिभी खरिद गर्नु आफैंमा महँगो पर्न जान्छ । फेरि यो निकै सौखिन कुरा देखिन जान्छ । तपाईंले कम रुपैयाँमै अन्य विभिन्न आकारमा टिभी खरिद गर्न सक्नुहुन्छ । 

यसको आकार अर्को बेफाइदा हो । किनकी यसलाई राख्न निकै ठूलो ठाउँ चाहिन्छ । त्यही माथि यसबाट देखिने दृश्यका लागि केही ठाउँ हुनु जरुरी छ । नत्र त सानो कोठामा टिभी अट्ला, तर हेर्ने अनुभव राम्रो हुँदैन । 

त्यस्तै यो आकारको टिभी खरिद गर्दा मात्रै शुल्क लाग्दैन । यसपछिका मर्मत र सम्भार खर्च पनि उस्तै हुन्छ ।  

समग्रमा धेरैका लागि १०० इन्चको टिभी ठाउँ, रकम र आवश्यकताका हिसाबले उपयुक्त नहुन सक्छ । तर पनि यदि तपाईंले टिभी हेर्ने अनुभवलाई केही भिन्न बनाउन चाहनुहुन्छ भने १०० इन्चको टिभी एउटा विकल्प बन्न सक्छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८१ १२:२३