काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ को क्लिपबोर्ड अर्थात् 'कपी एन्ड पेस्ट' फिचरलाई अझ विकसित बनाउने भएको छ । माइक्रोसफ्टले विन्डोज ११ को पावर टोय (विन्डोजलाई थप काम गर्न सक्षम बनाउने एउटा नि:शुल्क टुलबक्स) मा ‘एड्भान्स पेस्ट’ नामक एआईयुक्त नयाँ फिचर थप्ने भएको हो ।
यो फिचरले एउटा ल्याङ्ग्वेजमा लेखिएको प्रोग्रामिङ कोडलाई अर्कोमा पेस्ट गर्न सक्ने बताइएको छ । यो फिचर पावर टोयजको भर्सन ०.८१ मा उपलब्ध हुने माइक्रोसफ्टको भनाई छ ।
त्यसपछि यो फिचर एक्टिभेट गर्न प्रयोगकर्ताले विन्डोज कि, शिफ्ट र भी एकसाथ थिच्नु पर्ने हुन्छ । यति गरेपछि एड्भान्स पेस्टको नयाँ विन्डो देखा पर्छ । जहाँ कुन स्वरूपमा पेस्ट गर्ने भनेर विकल्प देखिन्छ ।
एड्भान्स पेस्टको विन्डो
यदि प्रयोगकर्ताले एड्भान्स पेस्टको सेटिङमार्फत पेस्ट विथ एआई विकल्प इनेबल गरेका छन् भने प्रोम्ट लेख्ने ठाउँ पनि आउँछ । जहाँबाट कुराकानीको शैलीमार्फत सारांश गर्ने, अनुवाद गर्ने, कोड लेख्ने लगायतका काम गर्न सकिन्छ ।
यद्यपि प्रयोगकर्ताले पावर टोयजमा ओपनएआईको एपीआई कि राख्नु पर्ने हुन्छ । यसका साथै ओपनएआई एपीआई क्रेडिट पनि आवश्यक पर्छ । जुन तपाईंले ओपनएआईबाट किन्नु गर्नुपर्ने हुन्छ ।