काठमाडौं । एनसेलका अन्तर्राष्ट्रिय डेटा रोमिङको शुल्क घटाएको छ । ग्राहकलाई मोबाइल डेटा मार्फत ‘सधैं अन’ अर्थात अनलाइन राख्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले डेटा रोमिङको नयाँ मूल्य कायम गरेको हो ।
डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक ७९.८८ रुपैयाँमा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोग गर्न सक्छन् । यो शुल्क यस अघिको दैनिक १९०.१८ रुपैयाँको तुलनामा ५८ प्रतिशतले कम हो ।
त्यस्तै चीन, बेलायत र थाइल्यान्ड भ्रमणमा जाने एनसेलका ग्राहकले कर सहित १९०.१८ रुपैयाँमा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन् । परिमार्जनअघि यी गन्तव्यमा दैनिक डेटा रोमिङको शुल्क ६३३.९३ रुपैयाँ लाग्दै आएको थियो । यो शुल्क ७० प्रतिशतले घटेको छ ।
एनसेलका ग्राहकले *१७१२९*२# डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । प्रिपेड ग्राहकले *१२३# डायल गरी यो प्याक लिन सक्नेछन् । त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेबसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको कम्पनीको भनाइ छ । परिमार्जित शुल्क यही जेठ ८ गते देखि लागू भएको कम्पनीले जनाएको छ ।
यो प्याक लिएपछि विदेश भ्रमणका बेलामा पनि ग्राहकले एसएमएस अलर्ट पाउँछन् । र, यसका लागि जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु नपर्ने कम्पनीको भनाइ छ ।
ग्राहकले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेट मार्फत ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरू कार्य गरी सधैं कनेक्टेड रहन सक्छन् । यो प्याक सुचारु गर्न कुनै शुल्क नलग्ने कम्पनीले जनाएको छ । माथि उल्लेख गरिएका देशमा जाँदा रोमिङ स्वतः सुचारु हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन् ।
ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानु भन्दाअघि वा विदेश पुगिसकेपछि पनि सुचारु गर्न सक्छन् । एनसेलका अनुसार कम्पनीको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छ ।